सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा ठूलो परिमाणमा भित्रिन्छ तस्करीको सजावट सामान

२०७८ माघ २, ०७:५५ नारायण अवस्थी

धनगढी : भारतको उत्तराखण्डको पन्तनगर घर बताउने माली समुदायका सात परिवार अहिले कैलालीको गोदावरी नगरपालिकाको दुर्गा लक्ष्मी सामुदायिक वनमा बसेका छन्। सात परिवारका तीन दर्जनभन्दा बढी व्यक्तिले फूल तथा गमला बेच्न नेपाल आउजाउ गर्छन्। तर यो र यस्तै समूहले भारतबाट भन्सार नतिरी ठूलो परिमाणमा सजावटका सामान ल्याउने गरेको स्थानीय व्यापारीले बताएका छन्।

भारतबाट कृत्रिम फूल तथा घर र कोठा सजावटका सामग्री भन्सार नतिरेरै भारतीय नागरिकहरूले कैलाली र कञ्चनपुर जिल्लामा भित्र्याउने गरेको स्थानीय व्यापारीको दाबी छ।  त्रिनगर-गौरीफन्टा नाका तथा कञ्चनपुरको गड्डाचौकी भन्सारबाट भारतीय नागरिकहरूले भन्सार नतिरी सामान ल्याउने गरेको तथा सशस्त्र र जनपद प्रहरीको मिलेमतो रहेको आशंका धनगढीका व्यवसायी नवराज जोशीको छ।

`भारतबाट सजावटका विभिन्न सामान भन्सार नतिरेरै भारतीय नागिरकहरुले ल्याउने गरेका छन्,´ उनले भने, `यसरी राजश्व नतिरी ठूलो परिमाणको सामान हरेक वर्ष ल्याउँदा राजश्व पनि गुमेको छ।´ कृत्रिम फूलमाला, गमलाको भन्सार महसुल २० प्रतिशत, मुल्य अभिवृद्धि कर १३ प्रतिशत तथा अन्तः शुल्क १० प्रतिशत लाग्ने गरेको छ।

यो दर बैधानिक रुपमा भन्सार काटेर सामान ल्याउदा भन्सार विन्दुमा सबै आयातकर्ताले तिर्नै पर्ने हुन्छ। तर ठूलो संख्यामा फूल तथा सजावटका सामान ल्याएर बर्सेनि आउने भारतीय नागरिकहरुले भने उल्लेखित भन्सार महसुल र राजश्व नबुझाएरै सामान ल्याउने र बिक्री गर्ने गरेको नेपाली व्यवसायीको दाबी छ। तर गोदाबरीको अत्तरियास्थित दुर्गालक्ष्मी सामुदायिक वनमा भेटिएका भारतीय नागरिक कविता मालीले भन्सार तिरेर सामान ल्याउने गरेको दाबी गरिन्।`हाम्रो त पेशा नै फूल बेच्ने हो। हामी नेपालको सबै जिल्लामा फूल तथा सजावटका सामान बेच्न जाने गर्छौँ,´ उनले भनिन, `कस्टममा कहिले उस्तै आउन दिन्छन्, कहिले भन्सार पनि तिर्ने गरेका छौँ।´

गड्डाचौकी र त्गौरीफन्टा भन्सार नाकाबाट भारतीयहरूले ठूलो परिमाणमा सजावटका सामानहरू झोला तथा गुण्टामा ल्याउने गरेको र नेपाल प्रहरी र भन्सार अधिकारीले त्यो कुराको मुल्यांकन नै नगर्ने गरेको गुनासो गरिएको छ। जसको कारण सरकारको ठूलो रकम राजश्व गुम्ने गरेको पाइएको छ। तर आगामी दिनमा राजश्व छली हुन नदिन भारतीय नागरिकहरूलाई निगरानीमा राख्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले बताए। `हामीले भन्सार नाकाबाट आउने सबै सामानको चेक जाँच गर्ने गरेका छौँ,´ उनले भने, `आगामी दिनहरुमा फूल तथा सजावटका सामान ल्याउने समूहमाथि निगरानी बढाउने छौँ।´

सीमा नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारका कर्मचारीको उपस्थिति रहने गरेको भए पनि भारतीय नागरिकले भने भन्सार नतिरी सिधैं ठूलो परिमाणको सामान नेपाल ल्याउँदै आएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस