कैलालीको मूल भन्सारबाटै छली, प्रहरी संलग्न कार्यक्रमकै लागि ल्याइयो एक ट्रक सामान
धनगढी : सुरक्षा निकायको बाक्लो उपस्थिती रहेको कैलालीको मूल नाकाबाटै भन्सार छलीको सामान धमाधम भित्रिन थालेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिती रहेको त्रिनगर–गौरीफन्टा नाका भएर भन्सार छलीको सामान धमाधम भित्रिन थालेको हो।
भारतबाट कुनै प्रयोजनका लागि ल्याइएको सामानको भन्सार बिन्दुबाट चेक जाँच गरी धरौटी राखेर भन्सार पास हुने नियम भए पनि कैलाली भन्सारबाट कानूनअनुसार धरौटी र राजश्व नबुझाएरै एक ट्रक सामान छोडिएको खुलासा भएको छ। कैलाली भन्सारबाट पुसको पहिलो हप्ता खुलेआम लाखौं मूल्य पर्ने साउण्ड सिस्टम तथा एलइडी भित्रिएको धनगढीका व्यवसायीले बताएका छन्।
नेपाल प्रहरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पुस ५ गते धनगढीमा सप्तरंग सांगीतिक साँझका लागि एक ट्रक सामान, भन्सार नतिरी ल्याइएको धनगढीका व्यवसायीले बताए। `त्यो कार्यक्रमका लागि भारतको लखीमपुर जिल्लाको गोलाबाट एक ट्रक साउण्ड सिस्टम, एलइडीसहित विभिन्न सामान ल्याइएको थियो,´ ती व्यवसायीले भने, `तर त्यो एक ट्रक सामानको कैलाली भन्सारमा कुनै राजश्व बुझाइएको छैन।´
भारतबाट कुनै पनि सामान फेरि भारत नै लैजाने प्रयोजनका लागि ल्याउनु परे भन्सार कार्यालयमा बैंक ग्यारेन्टी देखाउनुपर्ने, भन्सार कार्यालयले सामानको जाचँ गर्ने र फेरि भारत फिर्ता लैजाँदा तोकिएको भन्सार बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर कैलाली भन्सार कार्यालयले भारतबाट ल्याइएको एक ट्रक सामानको चेक जाँच तथा भन्सार नलिएको हो।
`हामीले मेला महोत्सवका लागि भारतबाट फेरि भारत नै फिर्ता गर्ने गरी सामान ल्यायो भने भन्सार पास गराउन नै तीन दिन लाग्ने गरेको छ,´ अर्का व्यवसायीले भने, `तर सप्तरंग कार्यक्रमका लागि सामान सिधैं धनगढी ल्याउने काम भएको छ। राजनीतिक पहुँच र शक्तिको आडमा भन्सार नतिरेरै ल्याएको धेरै सामान धनगढीमा बिक्री गरिएको छ।´
भारतको गोलाबाट व्यापारीले झण्डै १८ लाख मूल्य पर्ने एक ट्रक सामान कञ्चनपुरको डोके बजारसम्म ल्याएको र त्यहाँबाट नेपालको ट्रकमा सामान हालेर कैलाली भन्सार हुँदै धनगढी सामान ल्याइएको बताइएको छ। तर कैलाली भन्सारले भने यसरी कुनै पनि हालतमा सामान अयातनिर्यात नगरिएको जनाएको छ। मेला महोत्सवका लागि भारतबाट केही दिनका लागि नेपाल सामान ल्याउँदा भन्सारमा चेक जाँच गरेर बैंक धरौटी राखेर ल्याउन पाउने कैलाली भन्सारका भन्सार अधिकृत फणिन्द्र खतिवडाले बताए।
`हामीले चेक जाँच गरेर मुल्यांकन अनुसारको धरौटी राख्न लगाएर मेलामहोत्सवका लागि सामान ल्याउन दिने नियम छ,´ उनले भने, `भन्सार छली रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले एकसाथ काम गर्ने गरेको तर ट्रकमा सामान ल्याएर राजश्व नतिरेको जानकारी भने हामीसँग छैन।´भन्सार विन्दुमा कञ्चनपुर तथा कैलाली प्रहरीको जनपद र सशस्त्र प्रहरी बलको उपस्थिति रहेको भए पनि भन्सार तथा प्रहरीको मिलेमतोमा सामान आउन दिइएको आशंका गरिएको छ।
भन्सारमा तिर्नुपर्ने राजश्व नतिरेर सोझै सामान ल्याउने काम भएपछि जुन परिणाममा सामान ल्याइएको थियो सोही परिणाममा फेरि सामान फिर्ता नभएको दाबी गरिएको छ। एक ट्रकमध्ये धैरै भन्सार छली गरेर धनगढीमा बिक्री गरिएको समेत आरोप लगाइएको छ। कैलाली भन्सारबाट पहुँच र राजनीतिक शक्तिको आडमा भन्सार नतिरेरै सामान ल्याउने गरिएको छ।