भान्जीको पोष्टमार्टमका लागि शव चिर्दा डराएका संग्राम
सेती अञ्चल अस्पतालमा कार्यरत धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा सि गाँउका संग्राम विक ५२ बर्षका पुगे। उनको काम पोष्टमार्टमका लागि आउने शवहरुको चिरफार गर्ने हो। २६ बर्ष अगाडी २०४९ सालमा स्वीपरको नियुक्ती पाएर अस्पतालमा जागिर पाएका विक अहिले भने पोष्टमार्टमका लागि आउने शवहरु चिरफार गर्नमै व्यस्त हुन्छन्। मेरो धेरै जसो समय शवहरुकै साथमा बित्ने गर्छ। यही कामले नै अब जिन्दगी बित्न लाग्यो’ उनले भने।
सुरुको समयमा शव चिरफार गर्न विकलाई निकै डर लाग्थ्यो। उनले भने, पहिले शव देख्दा समेत डर लाग्थ्यो। झन त्यो शव काट्नका लागि त साहस पनि थिएन्। तर सोही कामका लागि पारिश्रमीक पाउने भएपछि शव काट्नै प¥यो। सेती अञ्चल अस्पतालमै कार्यरत चिकित्सकहरुले पोष्टमार्टका लागि शव कसरी चिरफार गरिन्छ भन्ने विषयमा सिकाए। शव पोष्टमार्टका लागि चिरफार गर्न थालेपछि धरैले फोहोर काम के गरेको ? भन्दै संग्रामले जिस्क्याउने पनि गरेका थिए। तर उनले मानेन्। नेपालको काम हो, जेजस्तो भएपनि गर्ने अठोट लिए, मैले यो काम गर्दै आएको छु, उनले भने।
उनले सुरुका दिनलाई सम्झदै भने, मेरै जुगेडाबाट एक जना ३ बर्षिया भान्जी नाता पर्नेको संकास्पद मृत्यु भयो। पोष्टमार्टका लागि उनलाई पनि सेती अञ्चल अस्पतालमा ल्याईएको थियो र चिरफार गर्ने काम मेरो थियो, उनले भने, आफ्नै भान्जीको शव चिरफार गर्दा भने शरिर कापेको थियो। पहिलो पटक जिवनमा पाप गरे जस्तो लाग्यो, विकले भने। तर मैले बाध्यताले गरे।
विकका जिवनमा सुरुका दिनहरुमा यस्ता धेरै उदारणहरु छन्। उनका लागि यो काम जिवन कालमा सबै भन्दा कठिन काम थियो। तर विस्तारै गर्दै गए। अहिले सहजै लाग्ने गरेको छ। एनले भने, त्यस्तो अवस्था सकभर नआओस, तर छोरा–छोरी, आमा–बुवाको पोष्टमार्टमका लागि शव चिर्न परे पनि तयार हुने छु।
सुरुमा उनलाई मानव शरिरका भित्री अंगका बारेमा जानकारी थिएन। अहिले भने उनलाई डाक्टरको जत्तिकै जानकारी छ। कुन प्रकृतिका शवलाई कसरी चिरफार गर्ने भन्ने विषयमा पनि उनलाई ज्ञान भईसकेको छ। पहिले सेती अञ्चल अस्पतालमै पनि शव पोष्टमार्टका लागि चिरफार गर्न भारतीयहरुको भर पर्नुपर्ने थियो तर अहिले अस्पतालमा विक जस्तै अन्य २ जना नेपालीहरु नै शव चिरफार गर्नेहरु छन्।
उनको अनुभवमा सबै भन्दा बढि महिलाहरुले आत्म हत्या गर्ने गरेका छन्। श्रीमान साथमा नभएका र अविभायीत युवतीका पेटमा बच्चा हुने। समाज र घर परिवारका डरले उनीहरुले आत्महत्या गर्ने गरेका छन्। प्रेम सम्बन्धमा आएको दरारका कारण केटाहरुरुले पनि आत्महत्या गर्ने र उनीहरुको शवको पोष्टमार्टम गर्नु पर्ने उनले बताए। उनले भने, भिर र रुखबाट लडेर मृत्यु भएकाहरुको सामान्य भित्री मुटु मात्र हेर्नु पर्ने हुन्छ। पोष्टमार्टम पछि पेट चिर्नु पर्ने र भित्रि अंगहरु राख्नु पर्ने, नंङ, औला लगायत पनि परिक्षणका लागि पठाउनु पर्ने हुन्छ। उनले भने, कहिले काँही त घरमा खाना खाईरहेको बेला पनि पोष्टमार्टका लागि शव चिरफार गर्न फोन आउँछ र म पनि अस्पताल पुगिहाल्छु।