बैतडीमा हत्या लुकाउन अपहरणको नाटक, फेसबुक स्टाटसले गरिदियो शिक्षकको भण्डाफोर
धनगढी: गत शुक्रबार(पुस २३ गते) बैतडीका एक शिक्षकले आफू अपहरणमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखे। सुर्नया गाउँपालिका–६ कलालबसेका २३ वर्षीय हरिश अवस्थीले गाउँकै २ जनाले ‘विप्लव’ समूहलाई लगाएर आफ्नो अपहरण गराइएको बताएका थिए। स्थानीय एक विद्यालयमा अध्यापन गराउने उनले २२ गते राति आफूलाई अपहरण गरेर बाँकेको राप्ती नदी किनारको शौचालयमा राखिएको जानकारी दिएका थिए।
उनको उक्त पोस्ट फेसबुकमा भाइरल भयो। सबैले प्रहरीलाई हरिशको उद्धार गरिदिन आग्रह गरेपछि बैतडी प्रहरीले बाँके प्रहरीलाई जानकारी गरायो। त्यसपछि शुक्रबार बेलुकी ८ बजे नै बाँकेस्थित राप्ती नदी किनारबाट उनको उद्धार गरी बैतडी झिकाइयो। तर उक्त घटनाले नै एक अर्को घटनामाथिको पर्दा हटाइदियो। बैतडी ल्याइएका हरिशले आफूले हत्या गरेको बयान प्रहरीलाई दिए। उनले आफूलाई अपहरण गरेको आरोप लगाएका तिर्थराज अवस्थीका भाई डम्बरदत्त अवस्थीको हत्या गरेको भन्दै प्रहरीलाई बताए। हरिशले डम्बरको हत्या गरेर भागेको र शंका नजाओस् भन्ने डरले अपहरणको प्रपञ्च रचेको भनि प्रहरीलाई बयान दिएको बैतडीका एक प्रहरी अधिकारीले बताएका छन्। ‘उनलाई उद्धार गरेर बैतडी ल्याएपछि प्रहरीले सोधपुछ गरेको थियो। गाउँका एक जना १ महिनादेखि हराइरहेकाले उनी(हरिश)लाई सोधपुछ गरेका थियौं। तर उनले हत्याबारे मुख खोले’ ती प्रहरी अधिकारीले भने।
हुन पनि ३० वर्षीय डम्बरदत्त गत मंसिर १४ गतेदेखि हराइरहेका थिए। हरिशले दिएको लोकेशनको आधारमा बुधबार बैतडी प्रहरीले खोजतलास सुरु गरेको थियो। हरिशले बयान दिए जस्तै शव अवस्थीको घर नजिकैको गुफामा फेला पर्यो। करिब १५ फिट खनेपछि सडेको अवस्थामा शव फेला परेको बैतडी प्रहरीले जनाएको छ। उक्त शव डम्बरकै भएको गाउँलेहरुले बताएका छन्। यद्यपि शव नचिनिने अवस्थामा छ। तर कपडाको आधारमा गाउँहरुले शव डम्बरको भएको ठम्याएका छन्।
साँझ ६ बजे शव निकालिएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको छ। घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए। डम्मरको हत्यामा अन्यको संलग्नता समेत रहेको आशंकामा सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको उनले बताए। डम्मरको हत्यापछि पक्राउ पर्ने डरले हरिशले अपहरणको नाटक गरेको प्रहरीको निष्कर्ष छ। डम्मर र हरिशको घर १० मिनेटको दूरीमा छ। उनीहरुको परिवारबीच केही खटपट रहेको गाउँलेहरु बताउँछन्।