सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलको गृहजिल्लामा मतदान सर्यो, दुई प्यानल मैदानमा

२०७८ पुष २६, ०१:०७ खबर संवाददाता

धनगढीः आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुन लागेको एमाले अछामको मतदान सरेको छ। निर्वाचन समितिले आज बिहानका लागि तय गरेको मतदान दिउँसोको लागि सारेको हो।

निर्वाचन कार्यतालिकाअनुसार बिहान ८ बजे मतदान हुने समय तोकिएको भएपनि अर्को तालिका सार्वजनिक गर्दै दिउँसो १ बजेबाट मतदान हुने भएको हो। सहमतिमै नेतृत्व चयन गर्ने एमालेको केन्द्रीय निर्देशनविपरीत अछाममा निर्वाचन हुने भएको हो। १० बुँदे पक्षका मुख्य नेता भीम रावलको गृहजिल्ला अछामको अधिवेशनलाई बिशेष रुपमा समेत हेरिएको छ। त्यहाँ नयाँ नेतृत्वको लागि दुई पक्षबीच चुनावी प्रतिष्पर्धा हुँदैछ।

एक समूहबाट अध्यक्ष पदमा चन्द्र बोहरा,उपाध्यक्षमा भीम बिष्ट, सचिवमा आदर्श साउद,सहसचिवमा शेरबहादुर बुढा,डम्बर बिसी रहेका छन् भने अर्को पक्षबाट अध्यक्षमा प्रकाश शाह,उपाध्यक्ष बलबहादुर कुँवर, सचिव भीम रावल (कालो टोपी) उप–सचिवमा प्रेमबहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन्। अछामका ९१ वडाका ७ सयबढी प्रतिनिधिले जिल्ला कार्यसमिति चयनका लागि मतदान गर्दै छन्।

कमेन्ट लोड गर्नुस