सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

२०७८ पुष २३, ०८:५८ रासस

रत्ननगर : यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ। नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ। महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ।

उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा १३औँ संस्करणको महोत्सव हुन लागेको हो। महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ। महोत्सवस्थलमा कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक राजु श्रेष्ठले बताए।

विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो। कोरोना सङ्क्रमण फैलन नदिन महोत्सवको टिकटसँगै सबैलाई मास्क प्रदान गरिने जनाउँदै अध्यक्ष श्रेष्ठले महोत्सवको प्रवेशद्वारमा मास्क र स्यानिटाइजर राखिने बताए। महोत्सवमा रहने सम्पूर्ण कक्ष बिक्री भइसकेको श्रेष्ठले जानकारी दिए।

यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टैछुट्टै परिसर रहने श्रेष्ठले बताए। महोत्सव परिसरमा २० रेष्टुरेन्ट रहने जनाउँदै उनले सबैको बुकिङ पूरा भएको बताए। विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक महलाई प्रवद्र्धन गर्नेगरी मौरीको डमी महोत्सवभित्र राखिने श्रेष्ठले जानकारी दिए।
 
महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष रहेका छन्। नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १३औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए। दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ। 

महोत्सव प्रचार–प्रसार समिति संयोजक सुमन श्रेष्ठले महोत्सवको उद्घाटन पुस २५ गते पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताए। त्यस्तै महोत्सवको समापन गर्न माघ ४ गते बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे आउने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस