धनगढीको ६ लेन सडक छेउछाउमा फोहरै फोहर
धनगढी: धनगढीको प्रवेशद्वारको रुपमा रहेको मोहनापुल–अत्तरिया ६ लेन सडक किनारमा जताततै फोहर फालिएको हुन्छ। जसकाकारण सडक वरपर नै दुर्गन्ध फैलिएको छ। फोहरका कारण सडकमा हिँडडुल गर्नै समस्या हुने गरेको स्थानीय प्रमानन्द नाथ बताउँछन्। फोहरका कारण स्वास्थ्यमा समेत असर परिरहेको उनले गुनासो गरे। ‘नियमित रुपमा यो सडक बाटो हिँडिरहेका हुन्छौँ। जताततै फोहरै फोहर फालिएको हुँदा एकदमै समस्या भइरहेको छ’ उनले भने।
बढीजसो पैदलयात्रीले प्रयोग गर्ने क्षेत्र फोहरले भरिएको छ। जसकाकारण आवगमनमै सास्ती बढेको छ। त्यहाँ स्थानीय व्यापारीले जथाभावी फोहर फाल्ने गरेका छन् भने व्यवस्थापनमा स्थानीय सरकार उदासीन छ। व्यापारीहरुको लापरवाही र सम्बधित निकायको बेवास्ताका कारण नागरिकले सास्ती खेप्नु परिरहेको ६ लेन सडकमै भेटिएका पैदलयात्री सन्तोष भट्टले बताए।
नियमित रुपमो फोहरै फोहरको बाटो हिँड्नु पर्दा रोगले पनि छिटो समात्ने गरेको उनले बताए। ‘एकातिर धुलो, अर्कोतिर फोहरको दुर्गन्धका कारण सास्ती भइरहेको छ। पसल व्यवसायीको लापरवाहीले सडकभरी फोहर। सम्बन्धित निकायले पनि समयमै फोहर उठाइँदिदैन’ उनले गुनासो गर्दै भने, ‘मुख्य सडकमा हिँड्न ठोक्किने डर हुन्छ। वरपरको सडकको अवस्था यस्तो छ, जता पनि सर्वसाधारणले नै सास्ती खेप्नुपर्छ।’ हप्तादिन सम्म पनि फोहर नउठाइदिने गरेको गुनासो उनको छ।
स्थानीय व्यापारीले उपमहानगरपालिकाले समयमै फोहर नउठाउँदा समस्या भएको बताएका छन्। ‘५/७ दिनपछि बल्ल फोहर उठाउन उपमहानगरको गाडी आउँछ। तबसम्म फोहर कुिहएर दुर्गन्ध फैलिएको हुन्छ। समयमै फोहोर उठाइदिए हामीलाई पनि सहज हुने थियो’ स्थानीय पवित्रा देवी शर्माले भनिन्।
६ लेन सडकमा फोहर संकलनका लागि कुनै व्यवस्था छैन। व्यवसायीले फोहर फाल्ने र केही दिनमा सोही ठाउँमा जलाउने गरेका छन्। सडक निर्माणका क्रममा रहेकोले फोहर उठाउने गाडी कम जाने गरेको धनगढी उपमहानगरपालिका सामुदायिक विकास तथा सरसफाई शाखा प्रमुख टंक विष्टले बताए। ‘सडक निर्माण भइरहेको छ, त्यसैले ६ लेन सडकमा फोहर उठाउने गाडी निश्चित समयमा मात्रै जान्छ। केही ठाउँमा गाडी लग्न जस्तो नभएर छुटेको हुन सक्छ’ उनले भने।
उनले व्यापारीहरुलाई जथाभावी फोहोर फालेर दुर्गन्धित नबनाउन तथा सचेत रहन अनुरोध समेत गरेका छन्। ‘पसल अगाडी लहरै पिच्छे फोहर फालिदिन्छन्। सबैले बाल्टीन वा थैलीमा राखेर फोहर एक ठाउँमा राखिदिए त्यती धेरै फोहर हुँदैन्। एक ठाउँमा फोहर राखे हामी गाडी पठाउँछौ’ उनले भने।
धनगढीमा फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा दुर्गन्ध फैलिँदै गएको छ। व्यवस्थापन केन्द्र निर्माणका लागि संघीय सरकारको क्षेत्रीय सहरी विकास आयोजनासँग बजेट भए पनि उपमहानगरले ठाउँ एकिन गर्न नसक्दा योजना कार्यान्वयनमा गएकै छैन।