करोड बढी लगानी लागेको गेटा कोभिड केयर सेन्टर अलपत्र
धनगढीः कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सुदूरपश्चिममा शय्याको अभाव भएपछि तिनै तहका सरकारमा कोरोना अस्थायी अस्पताल सञ्चालन गर्ने होडबाजी सुरु भयो। कैलालीको गेटा मेडिकल कलेजको भवनमा संघ सरकारले कोरोना अस्थायी अस्पताल सञ्चालन गर्ने दाबी गर्याे। प्रदेश र संघ सरकारबीच तालमेल नभएपछि स्थानीय तहहरुले गेटामा कोभिड केयर सेन्टर सञ्चालन गरेको थियो।
धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले संयुक्त रुपमा केयर सेन्टरका लागि आवश्यक सामग्री र कर्मचारीको व्यवस्थापन गरेका थिए। तर अहिले त्यहि केयर सेन्टर अलपत्र अवस्थामा छाडिएको छ। गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले केयर सेन्टरमा ताला लगाइएको बताए। ‘हाम्रा उपकरणहरु त्यहि छन्। समस्यामा प्रयोग गर्ने भनिएको थियो। अहिले केही छैन’ उनले भने, ‘गेटा मेडिकल कलेजका हेरालुहरुले हेर्दै आएका छन्।’
कोभिड केयर सेन्टरमा उपकरण तथा शय्या, औषधि, ग्याँस सिलिण्डर, सुरक्षाका लागि जस्तापाता, चमेनागृह लगायतमा गोदावरी नगरपालिकाको झण्डै ७५ लाख खर्च भएको थियो। धनगढी उपमहानगरपालिकाले व्यवस्थापनमा २४ लाख ६३ हजार र कर्मचारीको तलब भत्तामा ३ लाख २७ हजार गरी २७ लाख ८९ हजार खर्च गरेको थियो।
एक करोड २८ लाख बढीको लागतमा गेटा मेडिकल कलेजको भवनमा केयर सेन्टर सञ्चालन गरिएको थियो। तर अहिले कोभिड केयर सेन्टरका सामग्री निर्माण कम्पनीका हेरालुको भरमा छाडिएको छ। जस्तापाता मेडिकल कलेजका चौरामा अलपत्र छोडिएका छन्।
गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारबीच कोभिड केयर सेन्टरका सामग्रीलाई के गर्ने भन्ने विषयमा छलफल भएको उपमहानगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए। ‘गोदावरी नगरपालिका, धनगढी र सुदूरपश्चिम सरकारको बैठक भएको छ। तर के गर्ने भन्ने निर्णय भने भएको छैन। तलब नपाएको भन्दै बिरोध पनि भएको थियो। तर अहिले तलब पाएका छन्’ उनले भने, ‘उपकरणको विषयमा भने कुनै निर्णय भएको छैन।’