धनगढीमा सञ्चालन भयो पार्किङस्थल, सडकबाट ट्यांकर हटाउन भने अटेरी
धनगढी : बिहीबार मात्रै मोहनापुल–अत्तरिया ६ लेन सडकमा हुँदै आएको ट्यांकरको पार्किङ हटाएको भन्दै कार्यक्रम नै गरेर पार्किङस्थल सञ्चालन भएको घोषणा गरियो। नेपाल आयल निगमले धनगढीकै नेशनल ट्रेडिङ रहेको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडको जग्गा भाडामा लिएर पार्किङस्थल सञ्चालनमा ल्याएको थियो।
तर पार्किङस्थल सञ्चालन भएको दोस्रो दिनदेखि नै फेरि ६ लेन सडकमै ट्यांकर राख्न थालिएको छ। ६ लेन सडकमै पार्किङ गर्दा समस्या भएको धनगढीका सञ्जय रानाले बताए। ‘मुख्य सडकमै पार्किङ हुँदा दुर्घटना बढेका छन्,’ उनले भने, ‘सडकमा हुने पार्किङ हटाउन कुन निकायको पनि चासो पुगेको छैन।’
हुन त ट्यांकर पार्किङको जिम्मेवारी स्वयम ट्यांकर व्यवसायीको हो। तर उनीहरुले सडकमै ट्यांकर राखेर आवागमनलाई असहज बनाउन थालेपछि आयल निगमले खाद्य व्यवस्था कम्पनीको जग्गा पार्किङस्थलका लागि भाडामा लिएको हो। तर त्यहाँ पार्किङ गर्न ट्यांकर व्यवसायीहरुले अटेरी गरिरहेका छन्।
पार्किङस्थल पूर्ण रुपमा निर्माण नभएको र असुरक्षीत भएको भन्दै उनीहरुले फेरि सडकमै ट्यांकर राख्न थालिएको पेट्रोलियम पदार्थ ढुवानी संघ सुदूरपश्चिमका अध्यक्ष मनिराम पाण्डेले बताए। उनले भने, ‘पार्किङस्थलमा पर्खाल नहुँदा असुरक्षीत भएको छ। दिन हेरेर १ गते उद्घाटन गरिएको होला। तर त्यो ठाउँ पार्किङका लागि उपयुक्त छैन होला।’
ट्राफिक प्रहरी पनि जिम्मेवारीबाट पन्छिरहेको छ। सडकमा जथाभावी सवारी रोके कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीसंग भए पनि ट्याङकर व्यवसायीलाई भने कारबाहीको दायरामा ल्याइएको छैन। अहिले पार्किङस्थल नै तयार भइसकेको अवस्थामा पनि सडकको आवागमन नै रोकिने गरी हुँदै आएको पार्किङ हटाउन बेवास्ता गरिएको छ।
ट्याकंर भारी हुँदा माटो धसीएको र थप निर्माण गर्नुपर्ने भएकाले अहिले सो ठाउँमा पार्किङ नगरिएको जिल्ला ट्राफिक प्रहरी कार्याल कैलालीका प्रमुख प्रहरी निरीक्षक वकील सिंहले बताए। उनले मुख्य सडकमा नभएर डिभाइडरको भित्र पार्किङ गरिएको बताए। ‘त्यहाँ केही निर्माणको काम बाँकी छ,’ उनले भने, ‘मुख्य सडकमा नभई डिभाइडरभित्र केही दिनसम्मका लागि व्यवस्थापन गरिरहेका छौँ। पार्किङस्थल पूर्णरुपमा निर्माण भएपछि त्यहाँ पार्किङ गरिन्छ।’
तर नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले भने खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडको जग्गामा पार्किङस्थल तयार भएको र सोही स्थानमा ट्याकंर पार्किङ गर्न निर्देशन दिएको छ। पार्किङस्थलमै ट्याकंर राख्न निर्देशन दिएको नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामकुमार न्यौपानेले बताए।
‘पार्किङस्थल पूर्ण रुपमा सञ्चालनमा आइसकेको भए पनि व्यवसायीहरुले बाहना गरेका हुनसक्छन्,’ उनले भने, ‘हामीले उद्घाटनकै दिन निर्देशन दिइसकेका थियौं। त्यहाँ आवश्यक सबै निर्माणको काम सकिएको छ।’