सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले धान खरिद गर्न नमान्दा मर्कामा सुदूरपश्चिमका किसान

२०७८ पुष २, ११:२१ विन्दु चन्द

धनगढीः सरकारले धान खरिद गर्न नमानेपछि सुदूरपश्चिमका किसान मर्कामा परेका छन्। मापदण्डअनुसारको धान नआएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्न नमानेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका अनुसार मंसिर २२ गतेदेखि धान खरिद गर्न सुरु गरिएको थियो। 

तर किसानहरु भने खरिद केन्द्रमा धान पुगाएर बिक्री गर्न नपाएरै फर्किरहेका छन्। कैलारी गाउँपालिका स्थानीय कमल चौधरीका अनुसार बाढीले भिजाएको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्न मानिरहेको छैन। ‘सरकारले धान खरीद गर्न नमान्दा समस्या भइरहेको छ,’ उनले भने, ‘व्यापारीलाई बिक्री गर्दा तीन गुणा सस्तो बिक्री गर्नुपर्ने बाध्यता रहेको छ।’

सरकारले २ हजार ७५२ रुपैयाँ प्रति क्वीन्टल धान खरिदका लागि मूल्य तोकेको थियो।  तर सरकारले खरिद नगर्ने समस्याका कारण अधिकांश किसानले त व्यापारीलाई सस्तो मुल्यमै धान बिक्री गरिसकेका छन्। खाद्यले धान खरिदमा ढिलाई गर्दा कतिपय किसानहरुले त एक हजार रुपैयाँमै धान बिक्री गर्न बाध्य भएको कैलालीकै टीकापुर नगरपालिका वडा नम्बर १ वनगाउँका किसान रामकिसन चौधरी बताउँछन्। उनले भने, ‘खाद्यले धान किन्न ढिलो गरेको छ। खरिद सुरु गरे पनि अहिले मापदण्डअनुसारको धान नआएको भन्दै किसानलाई फिर्ता पठाइरहेको छ।’ 

कार्तिकमा आएको बाढीले भित्र्याउन तयार पारिएको धान भिजाएको थियो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने भिजेको धान खरिद गर्न अस्वीकार गरेको छ। जसका कारण निर्धारित कोटाको १० प्रतिशत पनि धान खरिद भएको छैन। सरकारले कैलालीमा ३५ हजार क्वीन्टल र कञ्चनपुरमा ६ सय क्वीन्टल धान खरिद गर्न कोटा निर्धारण गरेको थियो।

तर अहिलेसम्म कैलालीमा १३ र कञ्चनपुरमा दुई सय क्वीन्टल मात्र धान खरिद भएको छ। किसानले भिजेको धान ल्याइरहेको तर उक्त धान खरिद गर्न नमिल्ने मापदण्ड रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयकी प्रमुख प्रमुख एन्जिला बस्नेतको तर्क छ। ‘धान खरिद सुरु गरे पनि गुणस्तरीय धान नै पाइरहेका छैनौं,’ उनले भनिन्, ‘सबै किसानहरुको धान भिजेको छ। मापदण्डअनुसार धान खरिद गर्न समस्या भइरहेको छ।’

वर्षाअघि भित्र्याइएको धान र भिजेको धान संगै मिसाउदा पनि राम्रो र नराम्रो धान छुट्याउनै मुस्किल भइरहेको उनले बताइन्। खाद्यले धान खरिदका लागि कैलालीमा ८ वटा खरिद केन्द्र तोकेको थियो। तर टीकापुरको शत्ति गोदाम र धनगढीको मोहनपुर गोदामबाट मात्र धान खरिद सुरु गरिएको थियो।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस