धनगढी–राजघाट जोड्ने पुल ८ वर्षसम्म अधुरै
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट र आसपासका क्षेत्रलाई धनगढीसँग जोड्न मोहना नदीमा पुल निर्माणका लागि २०७१ असारमा सम्झौता भएको थियो। २०७४ असार मसान्तमा सम्पन्न गर्ने गरि सडक डिभिजन कार्यालय महेन्द्रनगर र इलाइट एडभेन्चर जेभीबीच पुल निर्माणको सम्झौता भएको थियो। तर सम्झौता भएको ८ वर्ष भइसक्दा पनि पुल निर्माणको काम अझै पूरा भएको छैन।
राजघाटका स्थानीयले अझै सहज रुपमा मोहना नदी पार गर्न पाएका छैनन्। औषधि उपचार, मजदुरी, कृषि उपज बिक्री र विद्यालय आउजाउ गर्नका लागि जोखिमपूर्ण यात्रा गर्दै धनगढी आउनुपर्ने बाध्यता रहेको कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटका स्थानीय रामलाल रानाले बताए।
बढीजसो समस्या बिरामीहरुलाई हुने गरेको उनको भनाइ छ। उपचारका लागि धनगढी नै आउनुपर्ने भएकाले समस्या भएको उनले बताए। ‘साइकल मोटरसाइकल त जान्छ। तर गम्भीर प्रकृतिका बिरामीहरुलाई धेरै समस्या छ। गाडी तथा एम्बुलेन्स जाँदैन्’ उनले भने, ‘गुलरीया हुँदै अत्तरियाबाट घुमेर आउनुपर्ने बाध्यता छ।’
३ वर्षमा निर्माण पूरा गर्नुपर्ने पुलको काम अझै सकिएको छैन। निर्माण कम्पनीले पुल निर्माणको काममा बेवास्ता गरेकाले स्थानीयले दुःख पाएको राजघाटका अर्का स्थानीय बिरबहादुर महराले बताए। ‘३ वर्षमा पुल बन्छ भनेर हामी धेरै खुसी थियौँ। आज आज भोलि भनेर ८ वर्ष भइसक्यो अहिलेसम्म बन्न सकेको छैन’ उनले दुखेसो सुनाए। राजनीतिक चलखेल, निर्माण व्यवसायीको लापरवाहीले सर्वसाधारणले दुःख पाइरहेको उनको गुनासो छ।
निर्माण कम्पनी र सडक डिभिजन कार्यालयबीच २०७१ साल असारमा ८ करोड ४२ लाखमा पुल निर्माणको सम्झौता भएको थियो। ७ करोड ९० लाख सडक डिभिजन कार्यालयले भुक्तानी समेत गरेको छ। तर निर्माण कम्पनीले विभिन्न बहाना देखाउदै ४ पटक समय थप गरेको छ।
त्यसैमा कात्तिक पहिलो साताको वर्षाका कारण बाढी आएपछि पुल निर्माण भइरहेको क्षेत्रको ग्रावेलसमेत बगाएको छ। ग्रावेल मोहनाको बाढीले बगाएपछि निर्माणको काममा अझै ढिलाई हुने देखिएको छ। तर पुस मसान्तमा पुल निर्माणको काम पूरा हुने दाबी सडक डिभिजन कार्यालयको छ। पुस मसान्तमा सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने प्रतिवद्धतासहित निर्माण व्यवसायीले काम गरिरहको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्ट बताए। उनले कात्तिकमा बाढीका कारण भत्किएको ग्रावेल तथा संरचनाहरुको पुननिर्माण भइरहको बताए।
धनगढी–राजघाट मोहनापुलको ९५ प्रतिशत काम पूरा भएको दाबी गरिएको छ। पुल क्षेत्रमा ग्रावेल र रेलिङ्ग निर्माणको काम बाँकी छ।