सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली पुल निर्माण भएको २८ वर्ष पूरा, मर्मतसम्भार गर्न टोली पठाउँदै सडक विभाग

२०७८ मंसिर २९, ०४:१३ नारायण अवस्थी

धनगढी : सुदूरपश्चिम प्रदेशलाई सडकमार्फत बाँकी नेपालसँग जोड्ने कर्णाली पुल निर्माण भएको मंगलबार २८ वर्ष पूरा भएको छ। सुदूरपश्चिमलाई बाँकी नेपालसँग जोडेर यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको कर्णाली चिसापानी पुलको विधिवत उद्घाटन भएको २८ वर्ष पूरा भएको हो। 

०५० साल मंसिर २८ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुलको उद्धघाटन गरेका थिए। नदीको बीचभागमा ठड्याइएको १ सय २८ मिटर अग्लो टावर र त्यसबाट दुबैतर्फ झारिएका लामा फलामे लठ्ठामा अडिएको छ, ५ सय मिटर लामो कर्णाली पुल।

कर्णाली–चिसापानी पुल निर्माण हुनुपूर्व सुदूरपश्चिमेली नागरिकले पूर्वी नेपालसँगको भौतिक सम्बन्ध अहिलेको जस्तो सहज थिएन। यहाँका नागरिकलाई डुङ्गा या भारतको बाटो प्रयोग गरेर बाँकी नेपालसँग सम्पर्क गर्नुपर्ने बाध्यता थियो। पुलको निर्माणले सुदूरपश्चिमको भारत निर्भरतालाई समेत घटाएको छ। 

कर्णाली–चिसापानी पुल बनेपछि सदूरपश्चिमका बाँकी भूभागमा पर्ने दर्जनबढी नदी तथा खोलामा पनि पक्की मोटर गुड्ने पुल बनेका थिए। विदेशी सहयोगमा जापानको कावासाकी हेभी इन्डस्ट्रिजले पुलको निर्माण गरेको थियो। कर्णाली पुलको निर्माणले सदूरपश्चिम क्षेत्रको उद्योग, वाणिज्य र व्यापारको क्षेत्रमा प्रगति गर्न टेवा पुगाएको सुन्दर सुदूरपश्चिम अभियान्ता गोपाल हमालले बताए। ‘कर्णाली पुलले आवागमनलाई मात्रै सहज बनाएको छैन,’ उनले भने, ‘यो पुलले पर्यटन विकास गर्न समेत टेवा पुगाएको छ।’ 

सामान्यतः फलाम तथा ढलानबाट बनेका यस्ता पुलको आयु ७० वर्ष हुने इन्जिनियरहरु बताउँछन्। समयमै मर्मतसम्भार गरिए पुलको आयु थप बढाउन सकिन्छ। ‘कर्णाली पुलको टावर तथा लठ्ठामा खिया लागेको छ,’ लम्कीका स्थानीय गणेश ठकुल्लाले भने, ‘सवारी साधन वारपार गर्दा पुल निकै हल्लिन थालेको छ।’ 

कर्णाली–चिसापानी पुलको मर्मत तथा रंगरोगन निकै समय अगाडिदेखि हुन नसकेको स्थानीयले बताएका छन्। तर सडक विभागले भने मर्मतसम्भार कामका लागि केहीँ दिनमै प्राविधिक टोली चिसापानी पठाउने तयारी भइरहेको जनाएको छ।

‘कर्णाली पुलको पिलर तथा लट्ठाहरुमा खिया लागेको छ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले दिनेशखबरसँग भने, ‘पुल निर्माण गर्दा औसत आयु ७० वर्ष भनिएको थियो। रंगरोगन तथा अन्य प्राविधिक पक्षको अध्ययन गर्न सडक विभागले प्राविधिक टोली पठाउन लागेको छ।’ 

पूर्वपश्चिम राजमार्ग एशियाली मापदण्ड अनुसार चार लेनको बने, कर्णाली पुलको विकल्पमा अर्को पुल बनाउनुपर्ने सडक विभागका महानिर्देशक थापाले बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस