सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट भारत पस्नेहरु भन्छन्, ‘ओमिक्रोनसँग लडेर परिवार पाल्छौँ’

२०७८ मंसिर २७, ०६:२६ विन्दु चन्द

धनगढीः कञ्चनपुरको त्रिनगर गौरीफन्टा सीमानाका कहिले पनि खाली देखिँदैन। सो नाकाबाट हरेक समय नेपाल–भारत आवतजावत भइरहन्छ। तर सो सीमा भएर आउने भन्दा जानेको ताँती बढी देखिन्छ। गौरीफन्टा नाकाबाट हरेक दिन बालबालिकादेखि जेष्ठ नागरिकसम्म भारत पसिरहेका हुन्छन्। भारत पस्ने हरेक नेपाली नागरिकसँग फरक–फरक कथा हुन्छन्। दुःख बेचर खुसी कमाउन उनीहरु भारततिर लम्कन्छन्। 

भारत पस्नेहरुको एउटै आवाज हुन्छ, ‘यहाँ बसेर के खाने, कसरी परिवार पाल्ने ?’। गुजाराकै लागि छिमेकी मुलुक धाउनुपर्ने बाध्यता रहेको बझाङको जयपृथ्वी नगरपालिका २ का शेरबहादुर कुँवर बताउँछन्। उनी विगत १५ वर्षदेखि भारतमा रोजगारी गर्दै आएका छन्। ‘नौकरीकै पछि हिँडेर आधा उमेर गयो। अझै पनि भारतमै जानुपर्ने अवस्था छ। घरमा बस्ने जस्तो वातावरण नै छैन। परिवार त पाल्नुपर्यो’ उनले भने। 

उनी नेपाल सरकारबाट दिक्काइसकेका छन्। कुँवर भन्छन्, ‘जो सरकार आफ्ना नागरिकको व्यवस्थापन गर्न सक्दैन त्यो सरकारलाई भोट दिएर जिताएर कुनै औचित्य नै छैन। सरकार देखेर वाक्क दिक्क लागिसकेको छ।’  नेपालमा अहिले विभिन्न राजनीतिक दलहरुको अधिवेशन चलिरहेको छ।

तर यहाँ बचेकाहरु जती सबै चुनावको होडबाची गरिरहेको गुनासो बझाङकै तल्कोट गाउँपालिका वडा नम्बर २ का सन्तोष कुँवरको छ। उनी भन्छन्, ‘भोट हालेर केही फाइदा छैन। जो दलाली गर्छ, जो चोर छ। भ्रष्ट छ। उसैको सम्मान छ। यहाँ सही काम गर्नेहरुलाई स्थान दिइन्न।’ १० वर्षदेखि भारतमै रोजगारी गर्दै आएका उनी मंसिरमा केही दिनका लागि काम विशेषले घर फर्केका थिए। फेरि परिवारको खर्च जोहो गर्नकै लागि उनी भारत पसिरहेका थिए।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’को छैन डर
फेरि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने त्रास छ। भारतमा धेरै जनामा यो संक्रमण देखिएको छ। नेपालमा पनि दुई जना विदेशी नागरिकमा ओमिक्रोन देखिएको थियो। तर अहिले उनीहरुको रिपोर्ट नेगेटिभ आइसकेको छ।  सोही कारण सरकारले अन्तर्राष्ट्रिय सिमानाकामा विशेष ध्यान दिन भनेको छ। 

तर सुदूरपश्चिमका सिमा नाकाहरुबाट रोजगारीका लागि दैनिक हजार बढीको संख्यामा भारत पसिरहेका छन्। उनीहरुमा कोरोनाको डर देखिँदैन। बरु उनीहरुलाई संक्रमणको निहुँ पारी रोजगारी खोसिने त होइन भन्ने डर छ। 
सन्तोष कुँवर भन्छन्, ‘आफुलेर सुरक्षाका मापदण्ड अपनाए केही हुँदैन्। हामीलाई यो रोग भन्दा भोकको डर छ। कतै संक्रमणको निहुँले सीमाबाटै त फर्काइने होइन भन्ने डर छ।’  उनले अस्पताल व्यवस्थापनमा ध्यान दिनुपर्ने, रोजगारीको स्रोत बनाइदिनुपर्ने लगायतका व्यवस्थापनतिर राज्य लाग्नुपर्ने बताए। 

‘दुई वर्ष धेरै दुःख पायौँ, होहल्लाले त्रास बढी भयो। बिरामीलाई सान्त्वना दिनुको सट्टा जनावरको भन्दा नराम्रो व्यवहार गरियो’, सिमामै भेटिएका कैलालीको घोडाघोडी नगरपालिका–४ का राम तिरुवाले भने।  अधिकांश सुदूरपश्चिमेलीहरु परिवारसहित भारतमै बस्ने गरेका छन्। ‘न खेती गरेर खाने जमिन छ, नत रोजगारी गर्ने ठाउँ नै। यहाँ बसेर बालबालिका कसरी पढाउने कसरी हुर्काउने’ कैलालीकी दिपा तिरुवाले भनिन्। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस