कञ्चनपुरका आरक्ष पीडितहरुको पीडा उस्तै, भएन व्यवस्थापन
धनगढीः कञ्चनपुरका आरक्ष पीडितको समस्या अझै समाधान हुन सकेको छैन। आफूहरुको व्यवस्थापनको माग गर्दे फेरि कृष्णपुरका आरक्ष पीडितहरुले आन्दोलन गरिरहेका छन्। २०५८ सालमा आरक्ष विस्तार गर्ने भन्दै सरकारले कृष्णपुरका नागरिकलाई विस्थापित गरेको थियो। विस्थापित भएको २९ वर्ष भन्दा बढी हुँदा पनि सरकारले कुनै चाँसो नदेखाएको एक जना आरक्ष पीडित कलावती धामीले बताइन्। ‘त्यो समय जुन तरिकाले हामीलाई लखेटियो सोही अनुसार हाम्रो व्यवस्थापन गर्नुपर्छ। छोराछोरी ठुला भइसके। न खेती गर्न जमिन छ, न त बस्न घर नै। के गरेर उनीहरुलाई पाल्ने।’
विगत २० वर्षदेखि आरक्ष पीडित सरकारले खोसेको सम्पति फिर्ता गर्न तथा आफूहरुलाई व्यवस्थित गर्न माग गर्दै विभिन्न आन्दोलन तथा बिरोधका कार्यक्रमहरु गर्दै आइरहेका छन्। आन्दोलनकै क्रममा २०६० सालमा एक जना आरक्ष पीडित प्रेमबहादुर चन्दको ज्यान समेत गयो। सो समयमा बस्तीबाट लखेटेको पीडा त छँदैछ झन् त्यसैमा पति गुमाउनु परेको पीडा स्मरण गरेर आफुलाई सम्हाल्न सक्दैनिन् प्रेमकी श्रीमती कृष्णपुर वडा नम्बर २ की भानमती चन्द। उनी भन्छिन्, ‘प्रशासनकै गेटमा श्रमिानको सहदत भयो। न क्षतिपूर्ति पायाैँ न बस्न ठाउँ। तीन तहको सरकार आयो र पनि केही भएन। कुनै निकायले हाम्रा बारे चाँसो देखाइरहेका छैनन्।’
आरक्ष पीडित जिल्ला संघर्ष समिति कञ्चनपुरले व्यवस्थापनको माग गर्दै फेरि गत मंसिर ११ गतेदेखि संघर्षका कार्यक्रम गरिरहेको छ। ‘हाम्रा अधिकार सुनिश्चित गर, सरकारले खोसेको सम्पति फिर्ता गर, आरक्ष पीडितको व्यवस्थापन गर, हालसम्मको क्षतिपूर्तिसहित व्यवस्था गर लगायतका नारा लगाउँदै उनीहरु मंगलबार मुख्यमन्त्रीको कार्यालय पुगेका थिए। सोही माग गर्दै मुख्यमन्त्रीमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाइएको छ।
उनीहरुले आरक्ष पीडित परिवारलाई कम्तीमा पनि १० कट्ठा जग्गा उपलब्ध गराउनुपर्ने माग राखेका छन्। सो ठाउँका परिचयपत्रसहित २४ सय ७३ परिवार विस्थापित छन्।