धनगढी र अत्तरियाका साँघुरा सडकमा गुड्छन् हजारौं अटो, प्रहरीले देखायो चासो
धनगढी : सुदूरपश्चिमको अस्थायी मुकाम धनगढी र अत्तरियाका सडकहरुमा अटाउनै नसक्ने संख्यामा अटो रिक्सा सञ्चालन हुँदा आवागमनमा सास्ती भएको छ। साँघुरा सडकमा आवश्यकताभन्दा बढी अटो रिक्सा सञ्चालन हुँदा आवागमनमा सास्ती भएको हो।
स्थानीय तह र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयमा मात्रै ११ हजार अटो रिक्सा दर्ता भएका छन्। ती मध्ये ८ हजार बढी अटो रिक्सा धनगढी र अत्तरियामा सञ्चालनमा हुने गरेका छन्। अटो रिक्साको भिडभाडका कारण सडक जाम हुँदा आवतजावतमा सास्ती भइरहेको मात्र छैन दुर्घटना पनि बढेको छ।
साँघुरा सडकमा आवश्यकताभन्दा बढी रिक्सा सञ्चालन हुँदा जामाको समस्या झन बढेको छ। अटो रिक्साका कारण सडकमा जाम हुँदा समस्या हुने गरेको धनगढीकी स्थानीय रामदेवी बोहराले बताइन्। उनले भनिन्, ‘सबभन्दा बढी अटोहरु चलछन्। कति बेला त एक घण्टासम्म जाम हुन्छ।’
अटो रिक्सा सञ्चालनका लागि न कुनै रुट परमिट बनाइएको छ न त अटो सञ्चालनका लागि कुनै मापदण्ड नै तय गरिएको छ। भित्री सडकका लागि उपयुक्त हुने अटो रिक्साको चाप मुख्य सडक र राजमार्गमा बढी छ। त्यसैमा अधिकांश चालक त सवारी चालक अनुमति पत्र लाइसेन्सविहीन छन्। अटोरीक्सा व्यवस्थित गरेर सञ्चालन गर्नका लागि चालकहरुले पनि पटकपटक स्थानीय तह, ट्राफिक प्रहरी कार्यालय र यातायात कार्यालय धाएका छन्।
अटो रिक्साहरुको कुनै प्रालि अर्थात समूह नहुँदा सञ्चालनमा समस्या भएको अटो चालक ओमबहादुर बेलालले बताए। ‘अटोलाई कसले व्यवस्थापन गर्छ,‘ उनले प्रश्न गर्दै भने, ’न कुनै प्रालि छ न त कुनै समूह नै बनेको छ। अटो यातायातमा अझै दर्ता भइरहेका छन्।’
रुट परमिट न तोकेर समस्या भएको अटो चालकहरुको गुनासो छ। नगरपालिका वा यातायात कार्यालयले व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ। उनले भने, ‘राजस्व लिने बेला यातायात कार्यालयले धमाधम लिने तर व्यवस्थापन नगर्ने समस्या छ।’
धनगढी र अत्तरियाका साँघुरा सडकमा हजारौं अटो रिक्सा गुड्न थालेपछि ट्राफिक प्रहरीले भने चासो देखाएको छ। मंगलबार मात्र ९२ अटो रिक्सा नियन्त्रणमा लिएर कारबाही गरिएको छ। अटो रिक्साको व्यवस्थापनका लागि तत्काल नयाँ दर्ताको कार्य बन्द गराउँदै जोरविजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक वकील सिंहले बताए। उनले भने, ‘जोरविजोर प्रणली लागू गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। चालक अनुमति पत्र नभएकाहरुलाई कारबाही गरिरहेका गछौँ।’
दसैंपछि अटो रिक्साको व्यवस्थापन गर्ने घोषणा नै गरेको उपमहानगरपालिका भने अहिले उदासीन देखिएको छ। प्रदेश सरकारले दर्ता बन्द गर्नुपर्ने माग गर्दै आएको उपमहानगर आफैंले पनि रिक्सा दर्ता गर्ने गरेको छ। अन्य पालिकाबाट सिफरिस भएका अटो रिक्सा पनि धनगढीमै चल्न थालेपछि चाप बढेको धनगढी उपमहानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरीले बताए। उनले भने, ‘सबै पालिकामा सिफरीस भएका अटोहरु धनगढीमै चल्ने भएकाले चाप बढेको छ। अव धनगढीमा दर्ता भएका अटोलाई मात्रै यहाँ चल्न दिने र अन्यलाई नचल्न दिने भन्ने निर्णय भइरहेको छ।’