डडेल्धुरामा जारी काँग्रेसको अधिवेशन अवैध भएको भन्दै रोक्न उजुरी
काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जारी जिल्ला अधिवेशन अवैध भएको दाबी गर्दै उजुरी परेको छ। सोमबार दिउँसो कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले जिल्लामा जारी अधिवेशन अवैध भएको दाबी गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता गरेका हुन्। एकलौटी तवरले अधिवेशनहरू भइरहेकोले रोक्न र फेरि वडादेखि नै अधिवेशन गर्न मल्ल पक्षको माग छ।
उजुरीमा जिल्ला अधिवेशन स्थगित गरेर वडा अधिवशेनको नयाँ मिति तय गर्न आग्रह गरिएको छ। जिल्लामा १० दिन अनसन बस्दा नेतृत्वले सुनुवाइ नगरेपछि असन्तुष्ट नेपाली काँग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ता ६ दिनदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा अनशनरत छन्। काँग्रेस डडेल्धुराको संस्थापन पक्षले आफ्नो असहमति हुँदाहुँदै अर्को पक्षले एकलौटी वडा र पालिका तथा प्रदेशसभा अधिवेशन गरेको आरोप लगाउँदै आएको छ।