सुदूर नेपाललाई विश्वसँग जोड्दै

के हो मालिकार्जुन दार्चुला सेवा समिति ?

२०७८ मंसिर ६, ०४:५० खबर संवाददाता

धनगढी: भौगोलिक पहिचान बोकेर स्थापना भएका समाजिक संस्थाहरुलाई लिएर पछिल्लो समय विभिन्न बहस हुन थालेका छन्। कोही यसलाई आवश्यकता ठान्छन् भने कोही यसलाई बढी महत्वाकांक्षी। कोही फेरि केही अलग्गै ठान्लान्। यसभन्दा थोरै पर बसेर यी संस्थाहरुका गतिविधिलाई नियाल्ने हो भने केही संस्थाहरूले समाजिक कामलाई बढी विशेष र फरक तरिकाले गरेको पाइन्छ। 

विशेष र फरक गरिरहेको गरिरहेका मध्येको एक संस्था हो मालिकार्जुन दार्चुला सेवा समिति। जसले पछिल्लो ३ वर्षदेखि हरेक रक्तदान कार्यक्रम गरिरहेको छ। योग शिविर संचालन गरेर धनगढीको तारानगर क्षेत्रका बासिन्दालाई त्यसको प्रत्यक्ष लाभ प्रदान गरिरहेको छ। केही जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको लागि पहल गरेर प्रदान गर्न सुरु गरेको छ। भने, विभिन्न विद्यालयँंग समन्वय गरेर पनि विद्यार्थीहरुको शिक्षामा योगदान पुर्याउने प्रयास देख्न सकिन्छ। 

कहिले निःशुल्क नाइँ कटिङ भनेर होस् या धनगढीमा हुने मेला महोत्सवमा आफ्नो पहिचान सहितको बाजागाजा, पहिरन आदि लिएर होस् आफ्नो सहभागी जनाएको देखिन्छ। त्यस्तै साहित्यक रचना समेटिने, जानकारीमुलक आलेख, धार्मिक स्थलहरुको बारेमा लेखिएका कुरा समेटिने तवरको एउटा पुस्तक दार्चुला दर्पण पनि निकालेको छ। अहिले समितिसँग आफ्नै दुई तले भवन छ। भवनमा नै समय समयमा भेटघाट कार्यक्रम र सामाजिक कार्यक्रम भइरहेका हुन्छन्।

मालिकार्जुन दार्चुला सेवा समिति पछिल्लो तिन वर्ष यताको  समयमा बढी सक्रिय भएको छ। समिति सक्रिय हुनुमा कार्यसमिति चुस्त दुरुस्त हुनु र अध्यक्ष पूर्णकालिन भएर सक्रिय रहनु छ। अहिले समितिको अध्यक्षमा २०१८ सालमा दार्चुला, मालिकार्जुनको चौकी भन्ने ठाउँमा जन्मिएका महेन्द्रराज पन्त छन्। इन्जिनियर समेत रहेका पन्त जागिरबाट अवकाश लिएपछि पूर्णरुपले समितीकै सेवामा तल्लिन छन्। उनको व्यक्तित्वले पनि समितिको गतिविधिमा र स्थितिमा फरक पारेको छ। यही प्रसंगमा पन्त भन्छन् ‘अहिले पनि म सहयोग माग्न खोज्दा कसैले पनि नाई भन्नु हुन्न। कुनै न कुनै रुपले उहाँहरुसँग म हिजोको दिनमा जोडिएकाले होला।’

समितिका थप योजना पनि छन्। ‘अहिले समितिलाई दीर्घकालीन रुपमा फाइदा हुने कार्यक्रमको लागि सिटिइभिटीसँंग समन्वय गरिरहेका छौं’ उनले भने।  उनको कार्यकाल पनि अब लगभग एक वर्ष जति छ। यो एक वर्षमा पूराना कार्यक्रमलाई निरन्तरता दिने र वृद्धहरुले दिनभरी भेटघाट गर्ने कक्ष कार्यालयमा नै स्थापना गर्ने उनको योजना छ। टिम पूर्णरुपमा सक्रिय रह्यो भने र सबैले आफ्नो जिम्मेवारी निभायो भने काम सफल हुने उनको बुझाइ छ। 

यस्तो भौगोलिक पहिचान भएका समाजहरुको विषयमा भइरहेको बहसमाथि प्रतिक्रिया माग्दा उनले आफ्नो योग शिविरको उदाहरण दिदै भने, ‘सकारात्मक कुरा गर्‍यो भने त्यसले पुरै समाजलाई फाइदा पुर्‍याउँछ।’ यस्ता समाज समिति राजनीतिक खिचातानीमा भने पर्न नहुने पन्तको बुझाइ छ।

कमेन्ट लोड गर्नुस