सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा काँग्रेसको नेतृत्व चयनमा देउवा दम्पत्तीकै फरक–फरक रुचि

२०७८ मंसिर ४, ०६:५० नारायण अवस्थी

धनगढी: नेपाली काँग्रेसको १४औं महाधिवेशनका लागि देशभर वडादेखि पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्र हुँदै जिल्लामा नयाँ नेतृत्व चयन हुने क्रम जारी छ। कैलालीमा प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व छनोटपछि सोमबारका लागि संघीय निर्वाचन क्षेत्रमा अधिवेशन गरिने तय भएको छ। अधिवेशनको क्रममा नेतृत्व चयन गर्दा वडादेखि पालिका र प्रदेश निर्वाचन क्षेत्रमा सर्वसम्मत हुन नसकेको अवस्थामा चुनाव गरेर नेतृत्व छानिएको छ।

५ निर्वाचन क्षेत्र भएको कैलालीमा काँग्रेसमा नेतृत्व छनोटमा संस्थापन पक्षकै नेताहरुबीच हानथाप भइरहेको छ। जिल्लाका एक सय २६ वडादेखि प्रदेश निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व छनोट हुँदा कतिपय अवस्थामा सहमति भएको छ, भने बाँकीमा चुनावी प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको छ। कैलालीमा सोमबारका लागि क्षेत्रीय अधिवेशन हुँदैछ भने मंसिर १० मा जिल्ला अधिवेशन तोकिएको छ। 

कैलालीमा संस्थापन पक्षकै बलियो उपस्थिति रहेको दाबी गरिएको छ। पार्टी सभापति देउवा निकट नेताहरुको संख्या क्षेत्रीय प्रतिनिधिमा उल्लेख्य भएसँगै क्षेत्र तथा जिल्लामा समेत संस्थापन पक्षले सहजै बाजीमार्ने अनुमान गरिएको छ। तर वडादेखि प्रदेश निर्वाचन क्षेत्रसम्म भएको नेतृत्व छनोटको अवस्था हेर्दा कैलालीमा देउवा दम्पत्तीकै फरक–फरक रुचि देखा परेको छ। वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्लाको नेतृत्वमा केन्द्रीय सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाले आफूले चाहेका अनुहार ल्याउन खोजेको विश्लेषण गरिन थालेको छ। 

जिल्लामा सभापतिसहित अन्य पदाधिकारीका लागि संस्थापन पक्षबाटै झण्डै आधा दर्जन नेताले उम्मेदवारी घोषणा गरेका छन्। कैलालीमा काँग्रेसको नयाँ नेतृत्वमा पार्टी सभापति देउवा र उनकी पत्नी आरजुले फरक–फरक व्यक्ति आओस् भन्ने चाहनाले जिल्लाको नेतृत्व छनोट पेचिलो हुने काँग्रेस नेताहरु बताउन थालेका छन्। 

अहिलेसम्म भएका र अब हुने नेतृत्व छनोटमा देउवा दम्पत्तीकै चाहना मुखरित हुने काँग्रेस निकट स्रोतको दाबी छ। तर जिल्लाको नेतृत्व प्रजातान्त्रिक प्रक्रियाबाट हुनु राम्रो भएको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को २ का नव निर्वाचित सभापति केशवराज जोशीको भनाई छ। ‘सर्वसम्मत नेतृत्व काँग्रेसको हितमा हुने भएपनि प्रजातान्त्रिक पार्टी भएकोले जिल्ला नेतृत्व छनोट चुनावद्वारा नै हुने देखिन्छ’ उनले भने, ‘चुनावी प्रक्रिया या सर्वसम्मत जे भएपनि नेतृत्व छनोट पारदर्शी हुन सके समस्या हुँदैन।’

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा सभापतिका लागि ४ जना आकांक्षी रहेका छन्। त्यसैगरी जिल्ला सभापतिमा आधा दर्जन नेताले उम्मेदवारी दिने काँग्रेस वृतमा चर्चा छ। काँग्रेसमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्दा लामो समयसम्म नेताहरुकाबीच तिक्तता कायमै रहने आशंका गरिएको छ। पार्टीलाई दीर्घकालिन क्षति नहोस् भनेर लोकतान्त्रिक प्रक्रियाबाट हुने नेतृत्व छनोटको समिक्षा गर्नुपर्ने बहस गरिनुपर्ने समेत बताउन थालिएको छ। तर निखारिएको नेतृत्व पार्टीमा ल्याउन लोकतान्त्रिक प्रक्रिया अपनाएपनि कार्यकर्ताहरुलाई न्याय होस् भनेर अवस्था हेरेर सहमति खोज्नु पनि गलत नभएको जिल्ला सचिवका प्रत्यासी केशव मिश्रले बताए।

‘पार्टीमा निखारिएको नेतृत्वका लागि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छनोट गर्नु राम्रो हो’ उनले भने, ‘सबैलाई समेट्न खोज्दा सहमति गर्नुपर्ने पनि हुन्छ। तसर्थ सहमतिमा नेतृत्व छनोट गर्नुपनि उपयुक्त नै हुन्छ।’

कैलालीमा जिल्लाको नेतृत्व हातपार्न संस्थापन पक्षलाई सजिलो भएको दाबी गरिएपनि आन्तरिक समीकरण मिलाउन भने सोचेजस्तो सजिलो छैन। क्षेत्रीय र जिल्ला सभापति र अन्य पदाधिकारीमा पार्टी सभापति देउवा र नेता आरजु राणाले चाहेका उम्मेदवारहरु बीच नै कडा प्रतिस्पर्धा हुने काँग्रेस नेताहरुको दाबी छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस