सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालसुधार गृह र कारागारका कैदीबन्दीका लागि खेलकूद सामग्री सहयोग

२०७८ मंसिर ४, १२:५३ रासस

डोटी: साइन नेपालले जिल्ला कारागार तथा बाल सुधार गृहका कैदीबन्दीका लागि खेलकूद सामग्री हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएको खेलकूद सामग्रीमा क्यारेम बोर्ड, भलिबल, भलिबल जाली लगायत रहेका छन्। प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले कारागार तथा बालसुधार गृहलाई सो खेलकूद सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए। 

सो अवसरमा प्रजिअ विष्टले साइन नेपालद्वारा हस्तान्तरण गरिएका खेलकूद सामग्रीले कारागार तथा बालसुधार गृहमा राखिएका कैदीबन्दीलाई सहयोग पुग्ने बताए। उनले भने, “मनोरञ्जन तथा खेलकूद सामग्री नहुँदा कैदीबन्दीलाई दिन बिताउनसमेत समस्या थियो, साइन नेपालले खेलकूदका सामग्री प्रदान गरेपछि अब सहज हुने भएको छ।” संस्थाले खेलकूद सामग्री प्रदान गरेपछि कैदीबन्दी निकै खुसी भएका छन्।

यसैगरी उक्त संस्थाले जिल्लाको सायल गाउँपालिका र आदर्श गाउँपालिकामा गएको असोज अन्तिम साता वर्षासँगैको आएको बाढीपहिरा पीडितलाई पनि आज खाद्यान्नलगायत राहत सामग्री  वितरण गर्ने जनाएको छ। 

उक्त संस्थाले जिल्लामा महामारी, विपद्, शिक्षा, स्वास्थ्य, छाउपडीलगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस