तिहारपछि फेरि बिहार
धनगढी: आइतबार त्रिनगर गौरीफन्टा नाकामा अछामका हरिश स्वाँर भेटिए। उनी तिहारको टीका नलगाउँदै भारत जान लक्ष्मी पूजाकै दिन घरबाट हिँडेका थिए। आर्थिक अभाव हुँदा भाइटिका पनि लगाउन नपाएको दुखेसो उनको छ। शनिबार साँझ धनगढी पुगेका उनले आर्थिक अभावका कारण रोजगारीका लागि भारतको बिहार जान थालेको बताए। आर्थिक अभावका कारण टीकासमेत लगाउन नपाएको दुखेसो उनले गरे। उनले भने, ‘हिजो भाइटिका थियो, म लक्ष्मी पूजाकै दिन आए। आफुसँग पैसा छैन, दिदीबहिनी टिका लगाउन आए के दिने उनीहरुलाई।’
उनी दसैँतिहारको विदा लिएर घर आएका थिए। आफूसँग भएको पैसा सकिएपछि उनी टिका नलगाउँदै भारत जान बाध्य थिए। उनी भन्छन्, ‘भएको पैसा सबै सकियो। सामान के ले किन्ने, के ले टिका लगाउने ? भएको पैसा सकिएर ऋण पनि निकाले त्यो पनि सकियो। अरुसँग कति माग्नु आफैलाई लाज महसुस हुन थाल्यो।’
दसैँतिहारको विदामा आएकाहरु तिहार सकिएसँग फेरि मुग्लान जान थालेका छन्। सुदूरपश्चिममा रोजगारीको अवसरहरु नभएको भन्दै रोजगारीको खोजीमा भारत जानु परेको उनीहरुले बताएका छन। निधारको सप्तरंगी टीका पनि नमेटिदै भारत जानुपर्ने सुदूरपश्चिमेलीहरुको बाध्यता रहेको गौरफिन्टामै भेटिएका धनगढीका रमेश भट्टले बताए। चाडपर्वको विदामा आएका उनी पनि भारत फर्किरहेका थिए। उनी भन्छन्, ‘जसोतसो रोजगारी पाइएको छ। कम्पनीले बिदा दिदैन। अर्काको देश अर्काको जागिर नगरे परिवार कसरी पाल्ने।’
हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको रोनक पनि सकिएको छैन। तर भारतमा कमाएको रकम सकिएको भन्दै सुदूरपश्चिमेलीहरु रोजगारीका लागि भारत जान सुरु गरेका हुन्। निधारको सप्तरंगी टीका र मखमली फूलका माला लगाएर उनीहरु गौरीफन्टा सीमा नाका हुँदै मलिन अनुहारमा भारत जाँदैछन्। देशमा राजनीतिक व्यवस्थामा परिवर्तन आएपनि जनजीवनमा कुनै परिवर्तन नआएको गुनासो उनीहरुको छ। स्थानीय तह, प्रदेश सरकार तथा संघ सरकारले रोजगारीको कुनै व्यवस्था गर्न नसकेको अछामका हरिश स्वाँर बताउँछन्।
उनले आफुहरुलाई नेपाल सरकारप्रति कुनै आशा र भरोसा नरहेको बताए। नेपाल सरकारले सहयोग गर्नुको साटो उल्टै लुट्ने गरेको उनले बताए। आफ्नै देशमा आउँदा पनि विदेश आएको जस्तो महसुस हुने उनको भनाई छ। उनी भन्छन्, ‘नेपाल सरकारप्रति कुनै अपेक्षा छैन। हामीलाई रोजीरोटी भारत सरकारले दिएको छ। नेपाल त झन लुट्छ। घर फर्किनेबेला नाकामा सरकारी कर्मचारीबाटै लुटिन्छाैँ।’ घर फर्किने समयमा भन्सारहरुमा सुरक्षाकर्मीहरुबाट नै लुटिने गरेको उनी बताउँछन्। ‘५०/१०० रुपैयाँ माग्छन्, चिसोमा चिया खान, बर्खामा चिसो खान। हामी पनि दिन्छौ त्यसमा कुनै कन्जुसाइँ हुँदैन। त्यतिबेला आफ्नै देशमा फर्किदा विदेशमा आयौँ जस्तो लाग्छ। उनले भने।’
भारत सरकारले आफुहरुलाई घेरै सहयोग गरेको उनीहरु बताउँछन्। स्वार भन्छन्, ‘रोजीरोटीको बाटो त भारत सरकारले नै गरेको छ। उसले गरिब छन्। आउँछन कमाउँछन्। खान्छन भनेर बुझ्छ। आधारकार्ड दिएको हुन्छ। भारतले हामीलाई कहिल्यै लुटेन्। तर नेपालमा नागरिकता बनाउन पनि सकस हुन्छ’ उनले भने।’
टीका नमेटिदैँ भारत पस्नेहरु मध्ये अधिकांश वर्षौदेखि उतै रोजगारी गर्दै आएका छन्। केही पहिलो पटक रोजगारीकै लागि गइरहेका पनि छन्।