गर्विलो ईतिहासको पुर्नरावृत गर्न स्थानीय जुर्मुराउँदै
सुदुरपश्चिमको फुटबल धानेको जोनापुर
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जोनापुर क्षेत्र फुटबलको उर्वरभुमी मानिन्छ । केही बर्ष अगाडी सुदुरपश्चिमको फुटबललाई जोनापुरले नै धानेको थियो । पुरुष फुटबलमा आधा खेलाडी जोनापुरका हुँदा महिला खेलाडीहरु त झन एक दुई जना मात्रै जोनापुर बाहिरका हुन्थे । विभिन्न व्यक्तीहरुले पनि सहयोग गर्दा फस्टायो जोनापुरको फुटबल केही बर्षदेखि सुस्ताएको छ । पुरुष खेलाडीहरु अहिले पनि विभिन्न क्लबबाट फुटबल खेलिरहँदा महिला खेलाडी भने सवै पलायन भईसकेका छन् । त्यही पलायनको पिडा र नयाँ खेलाडी उत्पादन हुन छोडेपछि स्थानीयहरु चिन्तित मात्रै भएका छैनन् की अहिले आएर फुटबलको ईतिहास पुर्नरावृत गराउन आफै सक्रिय हुन थालेका छन् ।
कुनै समय थियो की पुरुष खेलाडीहरुमा चार पाँच जना जोनापुरकै हुन्थे विगत सम्झिदैं फुटबल विकासमा सक्रिय गोपाल चौधरी भन्छन्– महिला खेलाडीहरुमा त वर्चश्व नै हुन्थ्यो, १८ जना खेलाडीमा १४ जना जोनापुरकै हुन्थे । तर अहिले भने अवस्था फेरिएको छ । महिला खेलाडी भेटाउन मुस्किल भईसकेको छ भने पुरुष खेलाडी पनि आकल झुकल मात्रै खेलिरहेका छन् । फुटबल सुस्ताउँदा जोनापुरबाट खेलाडी उत्पादन हुन पनि छोडेपछि अहिले आएर भने स्थानीय वासिन्दाहरु जुर्मुराए गर्विलो ईतिहास पुर्नरावृति गर्न खोजिरहेका छन् ।
जसका लागि उनीहरुले पहिलो प्रयासका रुपमा जोनापुरमा मदरल्याण्ड युथ कप फुटबल प्रतियोगिता सम्पन्न गरेका छन् । शनिवार भएको फाईनलमा सुप ११ ले उपाधि जित्दा घरेलु खेलाडीहरु समावेश रहेको टोली उपविजेता बनेको छ । पुरुष फुटबल प्रतियोगिा आयोजनाले फुटबलमा लाग्न हौसल थपेकोले अव महिला फुटबल प्रतियोगिता पनि आयोजनाको तयारी थाल्ने मदरल्याण्ड युवा क्लबका अध्यक्ष श्रवण चौधरीले बताए । सुरुमा धेरै राम्रा खेलाडीहरु थिए, उनीहरुलाई आफ्नो क्लबबाट खेलाउनका लागि दौडधुप हुने गरेको थियो विगतको कुरा सुनाउँदै श्रवण भन्छन्– जति थिए,सवै जनाले विभिन्न ठाउँमा खेल्ने र क्षमता देखाउन मौका पाए तर त्यसपछिका खेलाडीहरु गुमनाम जस्तै भएपछि फेरि जुर्मुराउनुपर्ने बाध्यता आएको हो ।
फुटबलमा लगाउन अभिभावकहरु लालहित छन किन भने यसअघि नाम कमाएका खेलाडीहरुले राम्रो दाम पनि कमाईरहेका छन् । महिला खेलाडीहरु पनि सेना प्रहरीको जागीरमा खेलाडी भएका कारण सहजै प्रवेश पाएपछि अभिभावकहरु फुटबलमा लगाउन अझ अग्रसर भएका छन् । केही बर्ष अगाडी सनसाईन एकेडेमी मार्फत भरत थापाले फुटबलका धेरै गतिविधि पनि गर्दै आएका थिए तर पछि उनले त्यो लगानी गर्न पनि छोड्दा स्थानीयले पनि चासो देखाएनन् । तर अहिले उनीहरुलाई त्यसको पछुतो भएको छ त्यही भएर उनीहरु आफै सक्रिय भएर फेरि फुटबलरको भुमीको रुपमा चिनाउन लागेका छन् । फुटबल खेलाडीहरु धेरै रहने पनि अव उनीहरुलाई बढीभन्दा बढी अवसर दिनुपर्ने स्थानीय फुटबल प्रेमी चन्द्र भट्ट बताउँछन् । स्थानीयहरु सक्दो सहयोग गर्नका लागि जहिले पनि तयार छन, अव फुटबल खेल्ने वातावारण भएको ठाउँमा गतिविधि वढाउनुपर्छ । स्थानीय थहहरुले पनि त्यसका लागि सहयोग गर्नुपर्छ ।