सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा बाढीपहिरोबाट आफन्त गुमाएका परिवारलाई २ लाख प्रदान

२०७८ कार्तिक १७, ०१:०३ खबर संवाददाता

डोटीः जिल्ला प्रशासन कार्यालय डोटीले बाढीपहिरोका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहत प्रदान गरेको छ। सरकारले बाढी पहिरोका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरे अनुसार जिल्ला प्रशासन कार्यालयले उक्त रकम वितरण गर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए।

सायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाउने ६ जनाका परिवारका सदस्यलाई गाउँमै गएर राहत रकम दिएको विष्टले बताए। बाढी पहिरोका कारण सायल गाउँपालिका १ का बिरे रोकाया, वडा नं ४ का जंगबहादुर विष्ट, वडा नं ५ का हिरुवा लुहार, देव डुम्रेल, वडा नं ६ का सागर कुन्जेडा र आशिष कुन्जेडा गरी ६ जनाको ज्यान गएको थियो। आशिष र सागर एकै परिवारका हुन्। उनीहरुको परिवारले भने मन्त्रिपरिषदको निर्णय अनुसार ३ लाख रुपैयाँ पाएका छन्।

बाढी पहिरोजन्य विपदबाट जिल्लामा १५ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। राहत रकम वितरण गर्न बाँकी परिवारलाई पनि तत्कालै उपलव्ध गराइने विष्टले बताए।
 

कमेन्ट लोड गर्नुस