पन्ज्युनयाँ क्रिकेटः आयोजक च्याम्पियन
विनोद सिंह विष्ट, बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टी–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले हात पारेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा शुसितमले कैलपाल क्रिकेट क्लबलाई २४ रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो।
उपाधिसँगै शुसितमले ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाएको छ। भने उपविजेता कैलपालले ३३ हजार ३ सय ३३ रुपैयाँमा चित्त बुझाएको छ। शुसितमले दिएको एक सय २५ रनको लक्ष्य पन्छाएको कैलपाल १७ दशमलव ५ ओभरमा एक सय रनमा समेटियो।
कैलपालका लागि हरि ओझाले नटआउट सर्वाधिक ३७ रनको योगदान गरेपनि जित हात पार्न नसक्दा उपविजेतामै चित्त बुझाउन बाध्य भयो। कैलपाल यसअघि पहिलो संस्करणको उपविजेता टोली पनि हो। कैलपालको पारी ध्वस्त पार्ने क्रममा शुसितमका किरन कार्कीले ४ तथा जनक कार्कीले ३ विकेट हात पारे। शुसितमका जनकसिंह कार्की म्यान अफ द फाइनल भएका स्कोरर रोशन कार्कीले जानकारी दिए।
त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको शुसितमले निधारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २४ रन बनाएको थियो। जसमा जनकसिंह कार्की सर्वाधिक ४४ रनको योगदान गरेका थिए। कैलपालका गोविन्द चन्दले ३ विकेट हात पारे।
यसैबीच प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत एक सय २५ रन र ७ विकेट विकेट हात पारेका शुसितमका कप्तान गोपाल कार्की म्यान अफ द सिरिज भए। उनले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाए। यस्तै शुसितमका लागि एक सय ३४ रन हिर्काएका सन्तोस कार्की बेस्ट ब्याट्सम्यान भए। शुसितमका लागि १६ विकेट लिएका किरन कार्की बेस्ट बलर भए। सन्तोस र किरन दुबैले समान ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाए।
प्रतियोगिताका विजेता र उपविजेता खेलाडीलाई दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की,शुसितम क्रिकेट क्लबका अध्यक्ष वीरसिंह कार्कीलगायतले पुरस्कार वितरण गरे।
सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरी १२ टोली सहभागी रहेका थिए। यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि विरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदार बैतडीले हात परेको थियो।