सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका किसान तीन गुणा सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १६, ०७:३८ विन्दु चन्द

धनगढी : कार्तिक पहिलो साता परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका किसानले धान खेतीमा मात्रै ५ अर्ब बढीको घाटा व्यहोरे। भित्र्याउन तयार भएको धान बाढीले बगाएपछि किसानलाई झट्का लागेको छ। अविरल वर्षा हुनुभन्दा अगाडि भित्र्याइएको धान बिक्रीको दौडमा अहिले कैलाली, कञ्चनपुरका किसान छन्। तर सरकारले मूल्य मात्रै तोकेर वेवास्ता गरेका कारण किसानहरु सस्तोमा धान बिक्री गर्न बाध्य छन्।

सरकारले तोकेको भन्दा धेरै कम मूल्यमा स्थानीय व्यापारीहरुलाई धान बिक्री गर्न बाध्य भएको कैलालीका किसान कमल चौधरी बताउँछन्। उनले भने, 'यस वर्षको धान सबै वर्षाले ध्वस्त पार्यो। बर्षा आउनु पहिले थन्क्याएको धान बिक्री गरिरहेका छौँ। तर भने जस्तो मूल्य पाइरहेका छैनौ।' अन्न भण्डारको रुपमा चिनिने कैलाली कञ्चनपुरका किसान धान बिक्री गरेरै दैनिकी चलाउने गर्दछन्। तर धान बिक्री गर्दा भने वर्षभरी गरेको मेहनेत र लगानीसमेत नउठ्ने हुँदा किसानहरु चिन्तित भएका छन्।

सरकारले निर्धारण मूल्य तोक्ने तर खरिद नगर्ने समस्याका कारण किसानहरु पीडित बन्दै आएको अर्का किसान सोनुराम चौधरी बताउँछन्। व्यापारीहरुले एक हजार तथा १२ सयमा मात्रै धान खरिद गरिरहेको उनी बताउँछन्। 'अलिकती बचेको छ त्यसै बिक्री गरेर तिहार खर्च जुटाउने तयारीमा छौँ,' उनले भने, 'व्यापारीले हजार, १२ सय मात्रै भनिरहेका छन्। खाद्यले समयमै खरीद गरिदिए सहज हुने थियो।' तिहारको खर्च जुटाउन भए पनि धान सस्तोमा बिक्री गर्न बाध्य भइरहेको कृषकहरु बताउँछन्। किसानको खेतबाटै धान खरिद गर्न उदासिन देखिएको सरकारले मूल्य भने प्रत्येक वर्ष निर्धारण गर्दै आएको छ।

यस वर्षपनि सरकारले मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल दुई हजार सात सय ५२ रुपैयाँ र मध्यम धान दुई हजार आठ सय ८५ रुपैयाँ तोकेको छ। तर सरकारी निकायले धान खरिद कोटा भने लगाएको छैन। जसका कारण किसान सस्तोमै व्यापारीलाई बेच्न बाध्य छन्। यो वर्ष त झन सरकारसँग किसनाबाट सोझै धान खरिद गर्ने कुनै पनि योजना छैन। खाद्य व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयकी निमित्त प्रमुख कल्पना विष्टले भने अहिलेसम्म केन्द्रबाट धान खरिदका लागि कुनै निर्देशन नआएको बताइन्। उनले भनिन्, 'केन्द्रबाट निर्देशन आउने हो। तर अहिलेसम्म आएको छैन। के कती खरीद गर्ने भन्नेबारे कुनै निर्णय नै आएको छैन। खरीद त हुन्छ होला।'

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस