डडेल्धुरा दुर्घटना: १५० मिटर तल खसेको बस रुखमा अड्किएपछि जोगियो ज्यान (तस्बिरहरु)
धनगढी: दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना८ख ६१३२ नम्बरको बसले शनिबार राति १२ बजेर ३६ मिनेटमा डडेल्धुराको स्याउलेमा इन्ट्री गरेको थियो। त्यसको झण्डै एक घण्टापछि आलिताल गाउँपालिका वडा नम्बर १ स्थित घण्टेश्वर मन्दिर नजिक उक्त बस दुर्घटनामा पर्यो। ३२ जना सवार उक्त बस सडकबाट झण्डै १५० मिटर तल खसेपछि १० घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायक निरीक्षक जितबहादुर देउवाका अनुसार १५० मिटर तल खसेको महाकाली यातायातको बस रुखमा अड्किएको छ। ‘दुर्घटनको कारण खुल्न सकेको छैन,’ उनले भने, ‘चालकलाई नियन्त्रणमा लिएर सदरमुकाम ल्याउँदैछौ। सोधपुछपछि मात्रै कारण भन्न सकिन्छ।’ उनका अनुसार बस चालक र एक जना मिनी ट्रकका चालकबीच साइडको विषयमा विवाद भएको थियो। त्यसको केही समयपछि दुर्घटना भएको प्रहरी नायब निरीक्षक देउवाले बताए।
बस दुर्घटनामा परी घाइते भएकाहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बैतडीको डिलाशैनी गाउँपालिका –६ की ४५ वर्षीया बिर्मा ओड, दोगडाकेदार गाउँपालिकाका २२ वर्षीय भरत विष्ट, २० वर्षीय नरेन्द्र विष्ट, २५ वर्षीय प्रकाश विष्ट र पुर्चौडी नगरपालिका –१० का ३० वर्षीय चन्द्र बहादुर विष्टको पद्मा अस्पतालमा उपचार भइरहेको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिकाकी रम्पा ओडको भने धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। उनलाई पद्मा अस्पतालबाट रिफर गरिएको र अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।