खेल क्षेत्रलाई सरकारको बेवास्ताः प्रदेश सांसद पन्त
धनगढीः खेल क्षेत्रलाई तीनै तहका सरकारले बेवास्ता गरेको सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले बताएका छन्। नेपाल सितोरियो कराते संघ कैलालीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पन्तले खेल क्षेत्रलाई बेवास्ता गरेर सरकारले खेलाडीको मनोबल कमजोर बनाउने काम गरेको बताएका हुन्।
नेपालमा निजी क्षेत्रको प्रयास र योगदानका कारण खेल क्षेत्र टिकेको बताउँदै उनले भने,‘सरकारले खेलमा लगानी नै गरेको छैन, यहाँ निजी क्षेत्रको एकल प्रयास र योगदानले यहाँसम्म खेल क्षेत्र पुगेको हो।’ सरकारले खेलाडीका लागि केही नगरे पनि खेलाडीले भने राष्ट्रलाई चिनाउन धेरै योगदान दिएको उनले बताए। ‘खेलाडीले राष्ट्रलाई चिनाउन ठूलो योगदान गदिएका छन्,’ पन्तले भने,‘अझ सुदूरपश्चिमका लागि खेलाडीको योगदान कदरयोग्य छ।’ खेल र खेलाडीको विकासका लागि आफूले सदनभित्र र बाहिर लविङ गर्ने उनले प्रतिबद्धता जनाए। यस्तै जानकी गाउँपालिकाकी उपाध्यक्ष तथा कराते प्रशिक्षक उमा महतोले खेलको महत्व नबुझेका व्यक्ति नेतृत्वका आउँदा खेलकुदमा विकास नभएको बताइन्।
सितोरियो करातेका पूर्व प्रशिक्षक थानेश्वर राईले खेल क्षेत्रलाई माथि उकास्न विदेशमा पनि लगानी जुटाउने काम भइरहेको बताए। उनले आफ्नो संस्थाले सुदूरपश्चिमका खेलाडीमा लगानी गर्ने प्रतिवद्धतासमेत जनाए। आफूलाई सुदूरपश्चिम र सुदूरपश्चिमका खेलाडीको बढी माया लाग्ने गरेको बताउँदै उनले यस क्षेत्रका लागि केही योगदान गर्ने इच्छा रहेको बताए।
तीन जनालाई सम्मान
नेपाल सितोरियो कराते संघ कैलालीले खेल क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका तीन जनालाई सम्मान गरेको छ। नेपालमै पहिलोपटक सितोरियो करातेलाई भित्र्याउने नेपाल सितोरियो कराते संघाका संस्थापक तथा पूर्व प्रशिक्षक थानेश्वर राई, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कराते प्रशिक्षक ललित खत्री र ८ औं साफ च्याम्पियनशीपमा पदक विजेता एवम् करातेका राष्ट्रिय प्रशिक्षक मकेन्द्रबहादुर सिंहलाई सम्मानित गरिएको हो। कार्यक्रममा तीनै जनालाई प्रदेश सभा सदस्य पन्त र नेपाल सितोरियो कराते संघका कैलाली अध्यक्ष भोजबहादुर बमले प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।