बैतडीको महाकाली नदीमा जोखिम मोलेर डुंगा यात्रा, बर्खामा तुइनको सहारा
धनगढीः गत बुधबार बैतडीमा महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने, एक जना अझै बेपत्ता छन्। जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर १ खाँडघाटस्थित महाकाली नदीमा डुंगा दुर्घटना हुँदा बपत्ता भएकी चक्रसिंह साउँदकी १२ वर्षीया छोरी मीना साउँद मृत भेटिएकी थिइन् भने उनका भाई सन्दीप अझै बेपत्ता नै छन्। १० जना सवार उक्त डुंगा दुर्घटना हुँदा ८ जना भने पौडी खेलेर बाँच्न सफल भएका थिए।
बर्सातमा माहाकाली नदी किनारका स्थानीयले जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ। जिल्लाको तल्लो स्वराडस्थित पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका ८ वटा घाट भारतको सिमासँग जोडीएका छन्। सो क्षेत्रका अधिकांश नागरिक दैनिक उपभोग्यका सामग्री किनमेल गर्न भारतको पञ्चेश्वर, लोहाघाट, चम्पावत, जमर्सौँ जाने गरेका छन्।
असोज ३१ गते भएको अविरल वर्षाका कारण अवरुद्ध भएका पहाडी राजमार्ग पूर्णरुपमा नखुल्दा तथा ग्रामीण भेगका कच्ची सडकहरु भत्किँदा खाद्यान्नका सामग्रीहरुको अभावका कारण पनि उनीहरु भारतको भर परिरहेका छन्।
पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका डिम्बर खाट, कुस्माउत घाट, खाँड घाट, ढोया घाट, धर्म घाट, रोल घाट, विनायक घाट र बलरा घाट गरी ८ घाटबाट नेपाल भारत आवतजावत हुने गरेको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ का स्थानीय देवराम लुहारले बताए। त्यहाँका स्थानीय व्यापार व्यवसायीहरुले पनि सोही घाटहरुबाट खाद्यान्न्का सामग्रीहरु ल्याउने गरेका छन्।
बर्सातको समयमा सो भेगकका स्थानीयहरुले जोखिम मोलेर तारउतार गर्नुपर्ने बाध्यता रहेको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ काम स्थानीय पञ्चमसिंह साउँदले बताए। दैनिक उपभोग्यका सामग्री ल्याउन र बिरामीको उपचार गर्न बढीजसो त्यहाँका स्थानीय भारत नै जाने गरेका छन्।
रोलघाट लगायतका अन्य घाटहरुमा डुंगा मात्रै छ भने रोलघाटमा तुइनमार्फत पनि तारउतार हुने गरेको छ। पञ्चेश्वर परियोजनाका लागि सुरुङमार्ग बनाउन भारतबाट मेशीनरी सामानहरु ल्याउनका लागि उक्त तुइन निर्माण गरिएको थियो। बर्खा लागेपछि शिवनाथ र पञ्चेश्वरवासी सोही तुइनमार्फत आवतजावत गर्छन्। उक्त तुइनमार्फत दुई जनालाई मात्रै तारउतार गरिरहेको स्थानीय बताउँछन्। वर्षौँ पहिले निर्माण गरिएको उक्त तुइन पनि जीर्ण छ।
रोजगारीका लागि भारत जाने र घर फर्किनेहरु पनि घाटहरुबाट नै फर्किने गरेका छन्। गत वर्ष कोरोना माहामारीका कारण भएको लकडाउनले भारतसँग जोडीएका विभिन्न सीमानाका तथा विभिन्न घाटहरुबाट आवतजावत बन्द गरिएको थियो। दार्चुला, झुलाघाट, गौरीफन्टा र त्रिनगर नाकाबाट आवतजावत सञ्चालन गरिए पनि अन्य सीमा भने बन्द नै छन्। तर घाटहरु पनि आधिकारिक रुपमा नखुलेपनि स्थानीयले डुंगा चलाएर महाकाली वारपार गरिरहेका छन्।