सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बन्यो भारतीय 'मगन्ते'को अखडा

२०७८ कार्तिक १३, ०८:०६ विन्दु चन्द

धनगढी : धनगढी बजार क्षेत्र भारतीय माग्नेहरुको अखडा बन्दै गएको छ। सडकमा हिँडिरहेका व्यक्तिमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे शरीरमै झुण्डिएर माग्ने बानी परेकाबाट धनगढीवासी आजित बनेका हुन्। झुत्रा कपडासहित एक /दुई महीनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि शरीरमै झुन्डिएर आजित पार्न थालेका हुन्।

भारतबाट परिवारसहित प्रवेश गरेका उनीहरु एकै दिन ३/४ पटक एउटै पसलमा माग्न पुग्ने गरेको धनगढी चौराहाका व्यापारी मदनराज पनेरुले बताए। ग्राहक आउँदा मगन्तेको समूह नै तुरुन्तै माग्न पुग्ने गरेको उनी बताउँछन्। '२०/२५ जनाको समुह छ। पसलमा ग्राहकहरु आउनै हुन्न उनीहरु पुगिहाल्छन्,' उनले भने। खुट्टा ढोगेर हैरान बनाउने गरेको उनले बताए। धनगढी बजार क्षेत्रका पसल र सडकमा उनीहरु २०/३० जनाको समूहमा नै माग्न पुग्ने गरेका छन्।

बजार क्षेत्रमा भारतीय महिला र बालबालिका बढी देखिन्छन्। दुधे बालकलाई काखमा बोकेर महिलाहरु र स–साना बालबालीका पनि मागिरहेका हुन्छन्। धनगढीको ट्राफिक चौराहमा सबैभन्दा बढी माग्नेहरुको भिड हुन्छ। भारतीय मगन्तेहरुका कारण हैरान भएको स्थानीय सन्ध्या भट्टराईले बताइन्। कसैले हात तान्ने, कसैले कपडा तान्ने तथा कसैले खुट्टा समाएर ढोग्ने गर्दा बाटोमा हिँड्नै असहज भइरहेको उनी बताउँछिन्।

भारतीय माग्नेहरुका कारण दुर्घटनाको समेत जोखिम छ। सवारी नहेरी सडक पार गर्ने भएकाले दुर्घटनाको जोखिम रहेको विद्युतीय रिक्सा चालक खडक बरालले बताए। उनले भने, 'गाडी नै नहेरी बाटो काटिदिन्छन्। यस्ले दुर्घटनाको जोखिम पनि छ। भारतबाट थुप्रै आउँछन्। जानु भन्दा पनि जाँदैनन्। नेपालीहरुलाई धेरै सताइरहेका छन्।'

यात्रुहरु चढ्ने र ओर्लीने मुख्य चोकमा भिडभाड हुँदै आएको भएपनि प्रहरी, प्रशासनले बेवास्ता गरेको गरेको गुनासो गरिएको छ। भारतीय मगन्तेहरु दिनभर मागेर साँझ एक ठाउँमा जम्मा हुने गरेका छन्। उनीहरु अत्तरिया, डोकेबजार र क्याम्पसचोक लगायता विभिन्न ठाउँमा बास बस्दै आएका छन्।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने माग्नेहरुले सताएको कहिलेकाही जानकारी हुने बताए। उनले भने, 'सूचना आएको बेला प्रहरी खटाएर नियन्त्रण गर्छौँ। त्यस्तो देखिए प्रहरीलाई खबर गर्न आग्रह गर्छौँ। प्रहरी खटाएर उनीहरुलाई हटाइनेछ।' विगतमा पनि भारतीय मगन्तेहरुका कारण हैरानी भएपछि स्थानीय प्रशासनले उनीहरुलाई नियन्त्रणमा लिदै भारत पठाएको थियो।

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस