सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको ओखडमूनी बस्ती पहिरोको जोखिममा, बस्ती नै स्थानान्तरण गर्नुपर्ने माग

२०७८ कार्तिक ९, ०६:०३ खबर संवाददाता

करन ताम्राकार, डडेल्धुरा:  गत आइतबार बेलुकीदेखि मंगलबारसम्म भएको भारी वर्षाका कारण गाउँको पुछारमा र चारैतिरबाट पहिरो खसेको थियो। डडेल्धुरा अमरगढी नगरपालिका–७ अमरपुर(ओखडमूनी) का बासिन्दाले उक्त पहिरो सामान्य ठाने। जब सडक मुनीबाट पहिरो खस्दै गयो गाउँमा संन्त्रास फैलियो।

गत वर्षायामदेखि पहिरो खस्ने र खेतबारीमा भ्वाङ पर्न थालेको ओखडमूनी क्षेत्रका १४ घर भएको बस्ती पनि जमिन चिरा परेर जोखिममा छ। असोज ३१ गतेदेखि कार्तिक २ गते सम्मको बेमौसमी वर्षाले नजिकको खरबारीमा तथा गाउँको चौतिरबाट भित्रभित्रै मूल निस्केर बाढीपहिरो र घरै पुरिने अवस्था आएपछि गाउँले डराएका छन्। चारैतिरबाट आएको पहिरोले दुई वर्षपहिले निर्माण गरिएको स्थानीय इन्दिरा ताम्राकारो पक्की घर जोखिमा छ।, र यसोदा टमोटाको घरको आँगन अगाडी पहिरो गएपछि घर जोखिममा रहेको छ। इन्दिराले भनिन् ‘पहिले घरको आँगनबाट पहिरो गयो। बिस्तारै घरमाथिको बारी र घरमुनिको ग्रामीण सडकबाट पहिरो जाँदै गर्दा घर असुरक्षीत बन्यो।’

५ वर्ष पहिले अमरगढी नगरपालिकाले पोखरा–तिलाँडी सडकको बिस्तारकाबेला उक्त बस्ती क्षेत्रमा वाल नलगाँउदा बस्तीमा ठूलो क्षति पुगेको थियो। यसपाली घरमाथिको पहिरोले घरै पुर्ने डरले अर्का स्थानीय इन्द्र ताम्राकार डराए। ‘दिनमा भएकाले अन्त परिवार सारियो। छिमेकीका घरमा गएर लगेर भैँसी बाँध्नुपरेको उनले बताए। ‘गोठ भत्केको छ, घरछेउमा चिरा परेका छन्,’ उनले भने, ‘अब हामी कता गएर बस्ने, ठेगान छैन।’ चिरा पर्ने क्रम बढिरहेकाले आउने बर्सातमा गाउँमा बस्न नसकिने उनले गुनासो गरे। 

गाउँनै चारैतिबाट भाँसिदै गएपछि दुई वर्ष पहिले झण्डै तीस लाख लगाएर निर्माण गरेको घर भत्किने अवस्थामा पुगेको ताम्राकारले बताए। जीवनभरीको कमाई त्यही घरमा भएकाले आफू बिस्तापित हुने अवस्था आएको इन्दिरा ताम्राकारले बताइन्। जमिन बग्छ वा थेगिन्छ भन्ने यकिन नभएकाले बसाई सर्ने कि यत्तिकै बस्ने भन्नेमा अन्योलता रहेको उनले बताए। 

वर्षाका बेलासम्म सामान्य रहेकामा अहिले खेतबारीमा दर्जन भ्वाङ परेपछि स्थानीय मानबहादुर ताम्राकारले चिन्तामा छन्। ‘तल बाटामुनिबाट पहिरो आएपछि घर चिरिएका छन्, माथिल्लो भागमा जमिन मात्रै चिरा सहितको पहिरो आएको छ,’ वडाअध्यक्ष खडगबहादुर बोहराल भने, ‘समयमै तटबन्धन गर्नसके केही घर जोगाउन सकिन्थ्यो।’ गाउँभरी चिरा परेकाले गोठ र घर जोखिममा रहेको उनले बताए।

अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा भने आफै बस्तीमा गएर अनुगमन गरेको बताएका छन्। ‘तत्कालै प्राविधिक टोली पठाएर स्टिमेट गर्न लगाइएको छ। प्राविधिक रिपोर्ट आएपछि स्थानीय तहले गर्ने सक्ने र अन्य निकायमा सहयोग लागि समस्याबारे पहल गर्नेछु’ उनले भने।  पहिराेले वडा ७ को (दलित) बस्तीमा जोखिममा रहेको उनले बताए।   

पोखरा–तिलाडी सडकको नौला खोला हुँदै जाने सडक पनि खोलामबाटै भाँसिएको छ। १ सय मिटर सडक माथि रहेको उक्त बस्ती भाँसिएपछि जोखिम बढ्दै गएको छ। खेतबारी पनि चिरैचिरा परेको छन्। खेत बारीसहित घर बग्ने डरले स्थानीय चिन्तित छन्। तर बस्ती जोगाउन नगरपालिकाको चासो कम भएको स्थानीयको गुनासो छ। 

पानी पर्ने बितिक्कै झन् खतरा हुन्छ। धेरै क्षति हुने देखिएको छ। स्थानीयले अमरपुर (ओखडमूनी)बासीले बस्ती संरक्षण क्रममा पानीको सतह बढाएपछि बस्ती र खरबारीमा मूल निस्केका स्थानीय समाजसेवी छत्र जोशीले बताए। ‘यो तीन दिनमा अत्यधिक परेका पानीले ठूलो असर गरेको छ। भिरालो जमिन भएकाले पहिरोको जोखिम बढी रहेको छ’ उनले भने। 

 

कमेन्ट लोड गर्नुस