सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीले ध्वस्त बनेकाे धनगढीको फर्निचर उद्योग फेरि ठडियो

२०७८ कार्तिक ९, ०५:२३ विन्दु चन्द

धनगढीः गत फागुन २२ गते कसैले कल्पना नगरेको भयानक घटना हुन पुग्यो। करोडौँको लगानी क्षणभरमै ध्वस्त भयो। सो घटना सम्झिँदा धेरै असह्य पीडा हुन्छ धनगढीको आलोक मल्टी कन्सर्न प्रालिका सञ्चालक भोजराज भट्टलाई। ८ करोड बढीको लगानीमा धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक नजिकै फर्निचर उद्योगको स्थापना गरिएको थियो। ४ जना लगानीकर्ताहरुले सो उद्योगमा लगानी गरेका थिए।
 भट्टसहित हिरा जोशी, पदमबहादुर भण्डारी र आरिप अहमद राइम उक्त उद्योगमा सञ्चालक रहेका थिए। फर्निचरका सामग्री सबै तयार भइसकेका थिए। उद्घाटन गर्न मात्र ६ दिन मात्रै बाँकी थियो तर आगलागी भएर सबै खरानी भइदियो। सो आगलागीबाट ८ करोड बढीको लगानी क्षणभरमै ध्वस्त भएको भट्ट बताउँछन्। 

‘केही सामग्रीहरु थप्न बाँकी थियो। उद्घाटनका लागि पनि सामग्री ल्याउन दिल्ली गएको थिए। नेट चलाउँदा सञ्चारमाध्यमबाटै थाहा पाए उद्योगमा आगलागी भयो भनेर’, उनी भन्छन्, ‘सोच्नै नसकिने घटना भयो। यत्रो मेहनत र लगानी सबै ध्वस्त भयो। के गर्ने के नगर्ने केही सोच्नै सकिएन्।’ त्यसपछि उनी तुरुन्तै दिल्लीबाट फर्किए। त्यहाँबाट आउँदा केही पनि बचेको थिएन। उद्योग पुरै जलेर खरानी भइसकेको थियो। तर त्यसपछि के गर्ने भन्नेबारे कुनै टुंगो नै नलागेको उनी बताउँछन्। 

कसरी भएको थियो आगलागी ?
एउटै भवनमा उद्योगको कारखाना र शोरुम बनाइएको थियो।  नियमित जस्तै २२ गते पनि उद्योगमा २५ जना जति कामदारहरु काम गरिरहेका थिए। त्यहिँ समयमा मल्लो तलाबाट आगोको सानो झिल्का जस्तै देखिएको बताइएको सञ्चालक भोजराज भट्टले बताए। तर त्यसपछि सोही झिल्कोले भयानक रुप लिएको उनी बताउँछन्। एउटै भवनमा शोरुम र उद्योग सँगसँगै हुँदा ठूलो घटना हुन पुगेको उनको अनुमान छ। ‘फागुन २८ गते उद्घाटन गर्ने मिति तोकेका थियौँ। तर २२ गतेको दिन सब स्वाहा’ भयो उनले भने। बिजुलीको तार सर्ट भएर नै आगलागी भएको हुनसक्ने उनको भनाई छ। ‘व्यवस्थित रुपमा काम गर्दागर्दे पनि उद्घाटन हुन ६ दिन अगाडी नै सोच्नै नसकिने घटना भयो’ उनले दुखेसो सुनाए।  

राज्यबाट सहयोग नपाउनु दुःखद
त्यति ठूलो घटना हुँदापनि कुनै निकायले चासो नदिएको सञ्चालक भट्ट बताउँछन्। ‘३ तहको सरकार छ। ‘सान्त्वना तथा केही सुझाव सल्लाह त दिन सकिन्थ्यो। कुनै पनि निकायलाई चासो भएन्’ उनले भने।  राज्यबाट कुनै सहयोग नपाउँदा दुःख लागेको उनी बताउँछन्। ‘व्यवसायीहरुले सानो ठूलो जति भएपनि सहयोग गरे। उनीहरुकै साथ र सहयोगले फेरि सञ्चालनमा ल्याइरहेका छौँ। तर राज्यवाट कुनै पनि सहयोग पाएनौ‌’ भट्टले भने। 

             सञ्चालक भोजराज भट्ट 

उद्योगको पूर्ण बीमा नगर्दा पनि नोक्सानी ब्यहोर्नुपरको उनी बताउँछन्। ‘देशमा व्यापार व्यवसाय भए अर्थतन्त्र पनि बलियो हुन्छ। नत्र देश डुब्छ। व्यवसायीबाटै सरकारलाई लाभ मिल्छ तर समस्या पर्दा सरकारले हेर्दैन त्यति बेला दुःख लाग्छ’ उनले भने। विभिन्न व्यवसायी तथा नयाँ व्यवसाय गर्नेहरुलाई लागि सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन्।  अन्य देशमा उद्योग व्यवसायीहरुलाई यस्तो समस्या आए पुःन सञ्चालन गरेर नाफा नहुन्जेल सरकारले सहयोग गर्ने भन्दै सुनेको बताउँदै उनले भने, ‘हाम्रो देशमा यस्तो छैन। उद्योग व्यवसायीहरुबाट कर लिन्छ तर समस्यामा परे हेर्दै हेदैन।’

राज्यले यी घटनाहरुको क्षति अनुसार सहयोग गरिदिए देशमै धेरै नागरिक स्वरोजगार बन्ने उनको भनाई छ। ‘नयाँ पुस्ता तथा अनुभवीहरु उद्योग खोल्न चाहान्छन् तर आर्थिक समस्याकै कारण उनीहरु व्यवसाय गर्न पाउँदैनन्। यसलाई पनि सरकारले ध्यान गरे देशकै अर्थतन्त्र बलियो बन्नसक्छ’ उनले भने। 

पुनर्निर्माणमा ७ करोढ बढी घर्च
आलोक फर्निचर उद्योग पुनः सञ्चालनमा आइरहेको छ। पुननिर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ। हालसम्म पुर्ननिर्माणमा ७ करोढ बढी खर्च भइसकेको र अझ डेढ करोड बढी खर्च लाग्ने सञ्चालक भट्टले बताए। अहिले सो उद्योगमा ७० जनाभन्दा बढी जनाले रोजगारी पाएका छन्। सुदूरपश्चिमका अन्य जिल्लामा समेत शाखा खोल्ने योजना उक्त उद्योगको छ। ‘सुदूरपश्चिमका सबै जिल्लाहरुलाई लक्षित गरेर सेवा दिने योजना छ’ उनले भने।

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस