सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अवरुद्ध ग्रामीण सडक सुचारु गर्न प्रयास जारी

२०७८ कार्तिक ९, ०१:१२ रासस

डडेल्धुराः वर्षाका कारण अवरुद्ध सडक सुचारु गर्न जिल्लाका स्थानीय पालिकाले प्रयास जारी राखेका छन्। गन्यापधुरा, अजयमेरू, नवदुर्गा,  भागेश्वर, आलिताल गाउँपालिका सहित अमरगढी  र परशुराम नगरपालिकाका ग्रामीण सडक अवरुद्ध छन्। अवरुद्ध सडक केही  सुचारु पनि भएका ती पालिकाले जनाएका छन्। 

रुवाखोला–रेल, धन्ढुङ्गा– बडाल, जनगलस्पा– कैलपालमाडौं र कोराल–मोइरेल सडकमा एकै साथ चार डोजर प्रयोग गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए। 
 
अजयमेरू गाउँपालिकाले उग्रतारा–मेलौली, भल्कुडा– चिपुर , ढिमौला–भद्रपुर  र बगरकोट–सेरागाँड–देवल सडक सुचारु गर्न काम सुरुआत गरिसकिएको जनाएको छ। गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले वर्षाका कारण अवरुद्ध ग्रामीण सडक खुलाउन उच्च प्राथमिकता दिएको बताए। नवदुर्गा, भागेश्वर र आलितालले गाउँपालिकाले  अवरुद्ध सडक सुचारु गरिरहेको जनाएका छन्।

 जिल्ला सदरमुकामस्थित अमरगढी नगरपालिकाले पोखरा– तिलाडी , डकले– सल्लघारी , घटाल– चिरकिट्टे सडकलगायत अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन तथा  राहत वितरणमा पालिकालाई आग्रह गरिएको बताए। 

कमेन्ट लोड गर्नुस