सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीसमक्ष ‘डायमन्ड’को गुनासो, ‘देउवाको जिल्लामा ठूलो विकास भयो भन्छन् तर यहाँ गोरेटो बाटो छैन’

२०७८ कार्तिक ५, ०५:१७ खबर संवाददाता

धनगढी: असोज ३१ गते आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा पुर्याएको क्षतिबारे निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार गृह जिल्ला डडेल्धुराको परशुराम नगरपालिका पुगेका थिए। उनको हेलिकोप्टर नगरपालिकाको सैनिक ब्यारेगमा ल्यान्ड भएको थियो। प्रधानमन्त्री देउवाले त्यहाँका जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयबाट बाढीपहिरोले पुर्‍याएको क्षतिबारे ब्रिफिङ लिएका थिए।

सोही कार्यक्रममा उपस्थित भएका नेकपा माओवादी केन्द्रका परशुराम नगर कमिटी अध्यक्ष शेरसिंह माल(डायमन्ड)ले पटक–पटक जिल्लाले प्रधानमन्त्री पाएपनि विकास नभएको गुनासो गरेका छन्। ‘प्रधानमन्त्री ज्यू, बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर यहाँ पुग्नुभएको छ। पटकपटक यो क्षेत्र बाढीको चेपटामा परिरहेको छ’ उनले भने, ‘२०६२ सालमा शिर्षमा ३२ जनाको ज्यान गयो। तर अहिलेसम्म पनि सरकारले बाढी पीडितको व्यवस्थान गर्न सकेको छैन।’

गत स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा पराजित भएका उनले जिल्लाबाट ५ पटक प्रधानमन्त्री भएकोप्रति गर्व गरिरहेको तर थुप्रै आशा पनि राखेको बताए। ‘बाहिर जिल्लामा जाँदा भन्छन् शेरबहादुर देउवाको जिल्ला त्यहाँ त धेरै ठूलो विकास भएको छ तर यहाँ गोरेटो बाटो छैन, यहाँ खानेपानी र सिँचाईको समस्या छन्’ अध्यक्ष मालले भने, ‘पञ्चायतकालमा महाकालीमा हुने तारउतार हुने गरेको तर बहुदलपछि त्यो पनि बन्द भयो। अहिले यहाँका जनता उपचारका लागि महाकाली तरेर भारतको टनकपुर जान्छन्। सम्पूर्ण विकासका क्ुरा अहिले सम्बोधन नगरे गर्ने कहिले।’

आफ्नो माग राखेपछि अध्यक्ष शेरसिंह मालले नगरकमिटीको तर्फबाट प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेलाई छुट्टा–छुट्टै ज्ञापनपत्र बुझाएका थिए। 

कमेन्ट लोड गर्नुस