सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षा रोकिए पनि धनगढीवासीका घर पानीमै

२०७८ कार्तिक ४, ०५:१५ विन्दु चन्द

धनगढी: आइतबार साँझदेखि लगातार ३ दिन परेको अविरल वर्षाका कारण धनगढी डुबानमा परेको थियो। वर्षासँगै धनगढी उपमहानगरपालिकाका अधिकांश बस्ती जलमग्न हुँदा जनजीवन कष्टकर बनेको छ। नगर क्षेत्रमै सयौं स्थानीयको घरसहित भान्छाकोठा र शौचालयभित्र समेत पानी पस्दा समस्या भइरहेको गुनासो आएको छ।  उपमहानगरपालिका वडा नम्बर २ मालिका टोलकी स्थानीय धनादेवी साउँदले शौचालय जाने ठाउँ नै नभएको बताएकी छन्। भित्र भरिएको पानी बाहिर फाल्न पनि ठाउँ नभएको उनले बताइन्। उनले भनिन्,  ‘छतमा खाना पकाउनु परेको छ। सुत्ने कोठा र भान्छा कोठामा पानी पसेको छ। शैचालय आधा डुबेको छ।’

हरेक बर्सातमा धनगढीका नागरिकले डुबानको समस्या झेल्दै आएका छन्। यो पटक पनि धनगढीका बजार क्षेत्रका अधिकांश बस्ती तथा टोल डुबानमा परेका छन्। सामान्य वर्षामा पनि यहाँका अधिकांश ठाउँ डुबानमा पर्ने गरेका छन्। सामान्य वर्षा हुँदा पनि पानी भरिने गरेको धनगढीकी स्वेच्छा सिँह बताउँछिन्। घरभित्र फोहोर पानी पस्दा बालबालिका बिरामी हुने गरेको उनी बताउँछिन्। 

वर्षा रोकिएपछि बुधबार र बिहीबार घाम लागेपनि धनगढीको  वडा नम्बर २, ३, ४, ५, ७, ८, ९ तथा १३ का विभिन्न बस्ती र टोलका घर तथा पसलभित्र पसेको पानी सुकेको छैन। अहिले पिच सडकमा नहर बगे जस्तै पानी बगिरहेको छ। 

नाली बिना सडक बनाइँदा सडक हुँदै पानी घरभित्र पस्ने गरेको धनगढी वडा नम्बर ३ का शीतजंगबहादुर सिंह बताउँछन्। उनी भन्छन्, ‘कनै ठाउँमा नाली बनाइएको छ। त्यो पनि सडक भन्दामाथि। नालीमा भरिएको पानी पनि जम्मै सडकमा आउँछ। सडकमा बगेको पानीको भेल घरभित्र पस्दा धेरै समस्या भइरहेको छ।’सडकको पानी पसलभित्र पस्दा नोक्सानी वेहोर्नुपरेको समेत उनी बताउँछन्। 

खोलानालामाथिको अतिक्रमणले धनगढीमा त क्षणभरको वर्षाले नै डुबानको समस्या छ। तर असोजदेखि अतिक्रमण हटाउने घोषणा गरेका मेयर नृपबहादुर ओडले अझै अभियान सुरु गरेका छैनन्। 

 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस