तराईको डुबानमा सिद्राको व्यापार, विपन्नका लागि वर्षा बन्याे पैसा कमाउने अवसर
धनगढीः सामान्य वर्षामा पनि सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला जलमग्न बन्छन्। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बस्ने स्थानीयलाई अविरल वर्षाले हैरान पार्छ। तर त्यहिबीचमा केही नागरिकलाई भने वर्षा आम्दानीको स्रोत बन्छ। उनीहरु वर्षा हुँदा उत्साहित हुन्छन्। उनीहरुमध्ये अधिकांश नागरिक आकाशमा बादल लाग्यो कि माछा मार्ने जाली तयार पारिहाल्छन्। वर्षा भएपछि एकाएक सानो सिद्रा र भोटे माछा भेटिने गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर २ मालिका टोलकी ज्योती चौधरी बताउँछिन्। सिद्रा र भोटे माछा बटुलेर बिक्रि गर्ने गरेको समेत उनी बताउँछिन्।
वर्षाको समयमा अधिकांश नागरिक पानी जम्ने ठाउँ नाली, खेत, खल्लामा लगायतका ठाउँहरुमा माछा मार्ने जाली फिँजाएर बसिरहेका देखिन्छन्। कम्मरमा डिल्या (माछा राख्ने भाँडो) बाँधेर माछा रोक्ने जाली बोक्दै पानी भएको ठाउँ उनीहरु हिँड्छन्। मोहना नदी लगायतका विभिन्न खोला, खेत तथा सडकहरुमा समेत अधिकांश स्थानीय माछा मारिरहेको देखिन्छन्।
वर्षा भएपछि राहत हुने धनगढीकी आसादेवी बताउँछिन्। उनी भन्छिन, ‘वर्षा भएपछि डिल्या कम्मरमा बाँधेर जाली बोकेर घरबाट निस्किन्छौँ। हाम्रो त वर्षा भएपछि घर आँगनमै माछा आउँछ। वर्षा त हाम्रा लागि राहत हो।’ आफ्ना छोराछोरी पनि माछा पक्रिनमा अब्बल रहेको उनी बताउँछन्। ‘केटाकेटी पनि पानी पर्यो कि जाली लिएर दौडिहाल्छन्। परिवारका ५/६ जना माछा पक्रन्छौँ। कहिले ३/४ बाटा पनि हुन्छ। अनि बिक्री गरेर घर खर्च चलाउछौँ’ उनले भनिन्।
सिद्रा र भोटे माछा बेचेर अधिकांशले नुन तेल खर्च चलाउँछन् भने कतिपयले तरकारीका लागि सिद्रा माछा मार्ने गरेको बताउँछन्। धनगढी भन्सार रोडका फूलराम राना भन्छन्, ‘पानी परेपछि माछा पनि अचानक कहाँबाट आउँछन् पत्तै हुँदैन्। तर यी माछाको स्वाद मिठो हुन्छ। सुकाएर बिक्रि गर्छौँ। केटाकेटीको खर्च चल्छ तरकारीका लागि पनि सजिलो हुन्छ।’
वर्षा भए आम्दानीका लागि राहत हुने फूलराम बताउँछन्। ‘पानी नपरे त हामीलाई घाटा हुन्छन्। माछाबाट त हामी जागिर भन्दा बढी कमाउछौँ’ उनले भने। हालै भएको अविरल वर्षामा समेत स्थानीयले माछा मार्न छोडेनन्। यो वर्षा उनीहरुका लागि पैसा कमाउने अवसर बनेको छ।