सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका स्थानीयद्वारा तुफानडाँडामा भीमदत्त राजमार्ग अवरुद्ध

२०७८ कार्तिक ४, १०:४३ खबर संवाददाता

धनगढी : डडेल्धुराका स्थानीयले घरमा पानी पस्न लागेको भन्दै राजमार्ग अवरुद्ध पारिदिएका छन्। आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण अमरगढी नगरपालिका–५ तुफानडाँडामा पहिरो गएको थियो। भीमदत्त राजमार्ग माथिबाट आएको पहिरोका कारण एलिसा हार्डवयरमा क्षति हुनुका साथै सडकको नाली पुरिएको थियो। सडकसम्मै पहिरो आएपछि नाली अवरुद्ध भएर पानी निकास हुन सकिरहेको छैन। 

पानी निकास नहुँदा राजमार्गको छेउ पट्टीका घरमा पानी गइरहेको छ। सडक समेत हिलाम्मे भएको छ। सोही कारण तुफानडाँडाका स्थानीयले सडक अवरुद्ध पारी नाली खोलेर पानी निकास गर्न माग गरिरहेका छन्। बिहीबार बिहानैदेखि सडकमै छड राखेर अवरुद्ध पारिएको सडक हालसम्म खुल्न सकिरहेको छैन। 

अहिले अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वर प्रसाद ओझासहितले स्थानीयसँग छलफल गरिरहेको त्यहाँ रहेका दिनेशखबरकर्मी टेकसिंह धामीले बताए। उनका अनुसार स्थानीयले नालीको पानी निकास नगर्दासम्म सडक अवरुद्ध पार्ने अडान राखेका छन्। 

कमेन्ट लोड गर्नुस