सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साढे ७ करोड बढी लगानीमा राना सांस्कृतिक संग्रहालय निर्माण हुँदै

२०७८ कार्तिक ३, ०५:०४ विन्दु चन्द

धनगढी: कैलालीको धनगढीमा राना सांस्कृतिक संग्रहालय निर्माण भइरहेको छ। संघीय र स्थानीय सरकारको लगानीमा साढे सात करोड बढीको लागतमा संग्रहालयको निर्माण भइरहेको हो। रानाहरुको मौलिक संस्कृति, भेषभुषा, कलाको संरक्षण संवर्द्धन गर्न धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा राना सांस्कृतिक संग्रहालय निर्माण भइरहेको वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशीले बताए। सो भवन निर्माण भएपछि कैलाली कञ्चनपुरका राना समुदायले आफ्नो कला, संस्कृति तथा भेषभुषाको प्रदर्शन गर्ने उनले बताए। 

उक्त भवनमा राना समुदायहरुको परम्परागत सामाग्रीहरुको प्रदर्शन गरिने तथा विभिन्न संस्कृतिक कार्यक्रमहरु आयोजना गर्न सकिने उनको भनाई छ। ‘पछिल्लो समयमा आधुिनक रुपमा हिँडिरहेका नयाँ पुस्ताहरुलाई पनि परम्रागत भेषभुषाबारे जानकारी गराउन तथा संस्कृति जोगाइराख्न यो संग्रहालय निर्माण भइरहेको हो’ उनले भने। 

अहिलेसम्म उक्त भवनको ५० प्रतिशत काम सम्पन्न भएको बताइएको छ। उक्त भवन निर्माणको जिम्मा पिएस कन्सट्रक्सन कम्पनी प्रालिले पाएको छ।  सो भवन ३ वर्षमा निर्माण हुने गरी २०७६ असार २० गते ठेक्का सम्झौता गरिएको कम्पनीका टेकराज मल्लले बताए। उनले असार मसान्तमा निर्माण कार्य सक्नेगरी काम भइरहेको बताए। 

७ करोड ५३ लाख ६८ हजारमा निर्माण भइरहेको उक्त संग्रहालयमा स्थानीय र संघीय सरकारको सयुक्त लगानी छ। धनगढी उपमहानगरपालिकाको ८० लाख, पर्यटन बोर्डको ७० लाख, तराई मधेस समृद्धि कार्यक्रमको ६० लाख, नारदमुनि रानाको संसद् कोषको ४० लाख र बाँकी सस्कृति पर्यटन तथा उड्यन मन्त्रालयको लगानी हुनेछ। 

संग्रहालयको ५० प्रतिशत काम भएपछि तीन करोड ५१ लाख ८६ हजार २८६ रुपैयाँ भुक्तानी भइसकेको धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दिजराज भट्टले बताए। उनले काम भएअनुसार जति भुक्तानी दिन नसकेको बताएका छन्। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस