सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘गीत गाउने मेरो सपना थियो’

२०७८ कार्तिक ३, ०४:३२ खबर संवाददाता

धनगढी: विस २०७३ सालतिर जब चेतन १२ मा पढ्थे तब उनले सांगीतिक यात्राको लागि सोचीसकेका थिए। र, संघर्ष गर्न सुरु पनि गरिसकेका थिए। अग्रज कलाकारहरुले गाएको जसरी आफुले पनि गाउन कसरी सकिएला, संगीतको क्षेत्रमा काम गर्न कसरी सकिएला, स्रोता तथा दर्शकहरुको मन जित्न कसरी सकिएला र आफ्नो पहिचान कसरी निर्माण गर्न  सकिएला लगायतका धेरै प्रश्न त्यतिबेला उनका मनमा थिए।

६ वर्षको हुँदादेखि अरुका गीत गाउन थालेका उनको सपना पनि गायक बन्ने थियो। सपना कसरी पुरा गर्ने भनेर लागिसकेपछि पढाई र गायन क्षेत्र दुइवटै कुरालाई मिलाएर लग्ने सोचमा उनी पुगे। उनले संगीत क्षेत्रमा औपचारिक रुपमा प्रवेश गर्ने सोच बनाइरहेका बेला सुदूरपश्चिममा भेगीय गीतहरु चलिरहेका थिए। अर्थात् राजेन्द्र भट्ट(आरजे), चक्र बम लगायतका कलाकारले पश्चिमको भाषामा नाच्ने खालका गीतहरु बजारमा ल्याई रहेका थिए।

तिनै आरजेलाई उनले पनि प्रस्ताव राखे ‘तपाईं अग्रज कलाकार मलाई गीत गाउने मन छ तर मलाई केही थाहा छैन, हजुरले सहयोग गरिदिनुपर्यो’ भनेर। उनले यो प्रस्ताव आरजेलाई राख्नुभन्दा पहिला दुई गीत जति गाइसकेका थिए तर पनि ती गीतहरूले त्यति चर्चा पाउन सकेका थिएनन् अर्थात् चेतन बोहरालाई स्थापित गर्न सकेका थिएनन्। 

आरजेले पनि ‘धौलीको लै भ्या भइ गयो’ भन्ने गीत तयार पारेका रहेछन्। जुन गाउनको लागि चेतनलाई दिए। अहिले गीत जति सफल छ, त्यति सफल होला भनेर चेतनले सोचेका भने थिएनन्। उनले यो गीतको सफलतालाई अनपेक्षित सफलताको रुपमा लिन्छन्। यो अनपेक्षित गीतको सफलता सँगै उनी स्थापित पनि भए। यो गीतपछि उनले कहिल्यै पनि आफ्नो करियरमा पछि फर्केर हेर्नू परेको छैन। अहिले उनका डेढ दर्जन भन्दा बढी गीतहरु बजारमा छन्। तिनै चेतन बोहरासँग दिनेश खबरकर्मी पदमराज जोशीले कार्यक्रम ‘प्रभात विमर्श’ मा कुराकानी गरेका छन्। उक्त कुराकानीको संक्षिप्त सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं। 

तपाईंको जन्म, हुर्काइ, पढाई कहाँ कसरी भयो ? 
म डोटीको पूर्वचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँ भन्ने ठाउँमा जन्मेको। त्यहाँ नै वनपाखा, घाँस दाउरा गरेको हुँ। आमाहरु बिहान खेतमा काम गर्ने, बिहान् उठ्ने,  खेतमा काम जाने गर्नुहुन्थ्यो। घरको काम जति भाँडा धुने तथा खाना पकाउने म आफैले गर्नुपर्ने हुन्थ्यो। घरको एक किसिमको जिम्मेवारी बचपनदेखि नै थियो भनौं। यसरी १२ वर्ष सम्मको बचपन मेरो त्यहीँ जन्मेकै ठाउँमा बित्यो। त्यसपछि हामी तराईमा बसाई सर्यौं र थप पढाई पनि कैलालीमा भयो। प्रवीणता तह सम्मको पढाई कैलाली बहुमुखी क्याम्पसबाट गरे। 

कलाकारहरु फरक–फरक कारणले कला क्षेत्रमा प्रवेश गरेका हौं भनेर बताउँछन्। तपाईंको कला क्षेत्रमा प्रवेश गर्नुको कारण के हो ?
पक्कै पनि संगीत क्षेत्रमा प्रवेश गर्नुको सबैको आ–आफ्नो किसिमको कारण हुन्छ। जस्तो कोही दुःख परेर पनि संगीत क्षेत्रमा प्रवेश गरेका हुन्छन्। कोही मायामा धोका खाएर संगीत क्षेत्रमा लागेका हुन्छन्। कोही रहरले लागेका हुन्छन् त कोही बाध्यताले। कोही सपनाले भएर पनि लागेका हुन्छन्। यी कारणहरु मध्ये मेरो चाहिँ अन्तिम कारण अर्थात् सपनाको कारणले म यो क्षेत्रमा प्रवेश गरेको हुँ। ६ वर्ष उमेरको हुँदा मलाई अझै पनि याद छ, मेरो शरीरमा झुत्रा कपडा भए पनि म ढुङ्गाहरुमा बसेर अग्रजहरुका गीत गाउथे। ती ढुङ्गाहरु मलाई अझै पनि को कहाँ थिए भन्ने सम्म याद छ।

बालापनमा गायन प्रतियोगिताहरुमा भाग लिनुहुन्थ्यो र ?
भाग लिन्थ्ये नि। स्कुलहरुमा आयोजना भएका कार्यक्रमहरुमा भाग लिन्थ्ये। पछि तराई झरेपछि प्रत्येक वर्ष लोकदोहोरी प्रतियोगिताहरुमा भाग लिएको हुन्थे र आफुले भाग लिएको टिमलाई जहिल्यै प्रथम बनाउँथे। 

अहिलेसम्म गरिएको तपाईंको आफ्नो गायन यात्रालाई कसरी हेर्नुहुन्छ ?
अहिलेसम्म सम्मको समयावधि संघर्षकै समयको रूपमा लिएको छु। हामी धेरै उचाईमा पुगिसकेका छैनौं। मान्छेको सपना नमर्दासम्म पूरा हुँदैन मेरो सोचाइमा। जे होस् मान्छेले संघर्ष गरिरहँदा आफू सफलतामा पुगेको पत्तै पाउदैन। मेरो अहिलेसम्मको यात्रा र अहिले समय पनि संघर्षकै हो। यो बिचमा जति मेहनत गरे र मेहनतको जति प्रतिफल पाए त्यो भन्दाबढी मेहनत र मेहनतको बढी प्रतिफल प्राप्त गर्नुपर्ने छ।

 

कमेन्ट लोड गर्नुस