कैलाली कारागारमा यसरी मनाइयो दसैँ
धनगढीः कैलाली कारागारमा रहेका कैदीबन्दीहरुले पनि उल्लासका साथ दसैँ मनाएका छन्। उनीहरुले शुक्रबार मात्रै होइन दसैँ सुरु भएको घटस्थापनाको दिनदेखि विभिन्न गतिविधि गर्दै खसी काटेर दसैँ मनाएका हुन्। कैलाली कारागारमा शुक्रबार दिनभर कैदीबन्दीहरुलाई टीका लगाउने र कैदीबन्दीबाट टीका तथा जमरा ग्रहण गर्नेहरुको पनि भिड थियो।
जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई दसैँको टीका लगाउन आफन्त गेट बाहीर लाइनमा थिए। उनीहरु पालैपालो गरेर कैदीबन्दीहरुलाई टीका लगाइरहेका थिए भने केहीले कैदीबन्दीबाट टीका ग्रहण पनि गरिरहेका थिए। कारागार भित्रै गएर टिका लगाउन पाउँदा खुसी थिइन मनु खत्री। जानेर वा अन्जानमा गरीएको अपराधको सजाय काटीरहेका कैदीबन्दीहरुका आफन्तको मनमा पीडा समेत थियो।
घरमै बसेर परिवारसँग दसैँ मनाउने रहर भए पनि परिस्थितिले कारागारमा टीका लगाउन परेको हरिप्रिया दाहाल बताउँछिन्। उनी भन्छिन्, `कारागार भित्र टिका लगाउनु पनि के रमाइलो भन्नु र, घरमा धेरै पाहुना आउँछन्, चेलबेटीहरु आउँछन्। कति रमाइलो हुन्छ। र पनि आँखामा आँसु मुखमा हाँसो ल्याएर टिका लगायौ।´
गत वर्ष कोरोनाका कारण भेटघाट नहुँदा टीका लगाउन नपाएका कैदीबन्दीका आफन्त अहिले भेट्न पाउँदा खुसी थिए। `गत वर्ष कोरोनाले टीका लगाउन पाइएन। यसवर्ष भित्रै गएर टीका लगायौँ, खुसी लागिरहेको छ,´ एक कैदीबन्दीका आफन्त जितबहादुर दाहालले भने। गत वर्ष कोरोनाका कारण कैदीहरुले एक आपसमा टीका लगाएर दसैँ मनाएका थिए। तर यस वर्ष आफन्तबाट टीका लगाउन पाउँदा उत्साह छाएको कारागारका नाइके बताउँछन्।
कैदीबन्दीहरुले दसैँका लागि विभिन्न ठाउँबाट खसी बोका पनि सहयोग पाएको उनले बताए। उनल भने, `बाहीरबाट पनि खसी बोका आए, हामिले पनि दसैँमा पाउने ३ सयले मिलेर ७/८ खसी बोका ल्याएका छौँ।´ ७ खसी र ४ बोका काटेको उनी बताउँछन्। सरकारले हरेक वर्ष दसैं खर्च प्रति कैदीबन्दीलाई तीन सय रुपैया दिँदै आएको छ। अहिले जिल्ला कारागार कैलालीमा ५ सय २ जना कैदीबन्दी छन्।