सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘६ वर्ष जापान बसे, अहिले बेलौरीमा व्यवसाय गरिरहेको छु’

२०७८ असोज २५, ०४:५३ खबर संवाददाता

धनगढी : उनी सानै थिए जब उनका बुवा कञ्चनपुरको बेलौरीबाट व्यावसायिक कामका लागि धनगढी आउने गर्थे। बुवा धनगढी आउँदा उनी पनि आफ्ना बुवासँगै रमाइलो मानेर धनगढी आउने गर्थे। त्यहीँबेला उनलाई लाग्थ्यो बुवाले व्यवसाय मलाई सम्हाल्न भन्नुभयो भने म पनि यसरी नै बजारीकरणका लागि यताउता गर्नेछु।  उनी बिस्तारै ठुलो हुँदै गए। क्रिकेटमा उनको खुब मन थियो। बुवाले एकेडेमीमा भर्ना हुन उनलाई भनेका थिए। तर पनि उनी पढाइको लागि विदेश जाने सोचमा पुगे। जापानको ६ वर्षे बसाई उनको भयो। जापानको बसाईलाई बिट मारेका उनी अहिले दुई वर्षदेखि आफुले सानोमा देखेको सपना पछ्याउँदै आइरहेका छन्। 

पारिवारिक व्यवसाय(किराना, खुद्रा पसल) गर्न बेलौरी फर्किसक्नु भएका उनै व्यवसायी अमित शर्मा (भट्टराई) सँग पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्श ‘उद्योग व्यवसायमा दोस्रो पुस्ता’ शृङ्खलाको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ। 
व्यवसाय कस्तो चल्दै छ ?
कोरोनाले व्यवसायलाई थलानै पारेको थियो अब बिस्तारै बिस्तारै सुधार हुँदैछ। व्यापारमाथि उकास्न अझै एक दुई वर्ष लाग्छ। व्यवसाय लगायतका हरेक क्षेत्रलाई नराम्रो प्रभाव परेको छ। यसले पनि फेरि व्यवसायलाई घाटा गरेको छ। किसानदेखि लिएर हरेकलाई आर्थिक रुपले समस्या नै छ। 

दसैँको समयलाई व्यावसायिक सिजन पनि भन्ने गरिन्छ। के अहिले साँच्चै पहिलो लकडाउनले लगाएको घाउमा मलम लगाउन सकिने स्थिति छ ?
अहिलेको समयलाई हेर्ने हो भने त मलम लगाउने स्थिति पक्कै छैन। असोज सुरु भएदेखि बजार झन सुनसान छ। सायद अधिकांशसँग पैसा नै नभएर होला दसैँ खल्लो नै हुने जस्तो छ। 

व्यवसाय आफैले सम्हाल्ने गरी कहिले व्यवसाय प्रवेश गर्नुभएको हो? 
धेरै समय बाहिर पनि बसियो। सानोमा बुवालाई आफु ठुलो भएपछि सहयोग गर्छु भन्ने सपना थियो। सानैदेखि उहाँको छेउमा बसेर व्यवसाय सिकियो। अहिले व्यवसाय सम्हाली रहेको छु। विदेशबाट फर्केको पनि ६ वर्ष जति भयो। फर्केपछि आफैले गरिरहेको छु । प्लस टु पढेपछि त्यतिखेर होटेल म्यानेजमेन्टको ट्रेन्ड थिया।  मैले पनि पढे र जापान जाने सोच खै कताबाट आयो जापान गए। धेरै साथीहरु अस्ट्रेलिया युरोपतिर गए मैले पनि ६ महिना जापानिज भाषा पढेर भिसा लगाए। भिसा लाग्न गाह्रो हुन्थ्यो त्यतिबेला। तर भाग्य भन्ने कि के भन्ने मेरो भिसा लाग्यो। ६ वर्ष उता बसे र अहिले बेलौरीमा व्यवसाय गरिरहेको छु।

जपानबाट के सोचले फर्किन उत्प्रेरित गर्‍याे ?
बुवाका हामी दुई छोरा। भाई विशेष गरेर बाहिरतिर नै रुचाउछ। यसैकारणले बुवालाई सहयोग गर्नुपर्छ लागेर पनि र फेरि अर्को कुरा आफुलाई व्यवसायमा सानैदेखि रुचि भएकोले फर्कन उत्प्रेरित गर्‍याे। 

तपाईको अघिल्लो पुस्ताबाट तपाइले सिकेको कुरा के हो ?
बुवाबाट व्यावसायिक रुपमा सिकेको भनेको इमानदारिता र लगनशीलता हो। बुवा अहिले ६० वर्षको हुनु भयो र पनि ६ बजेदेखि ९ बजेसम्म अनवरत रुपमा काम गर्नु हुन्छ। आमा पनि घरको कामसँगै पसल पनि हेर्नुहुन्छ। उहाँहरुबाट मैले सिकेको भनेको कसैलाई रुखो बोल्नु हुँदैन, कसैलाई चोट पुर्याउनु हुँदैन। यहीँ कुरा मलाई पनि मनपर्छ र मैले सिकेको पनि यही हो।

कमेन्ट लोड गर्नुस