सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिका जाने सोच बनाएका २४ वर्षीय आयुष धनगढी फर्केर व्यवसाय गर्दै(भिडिओसहित)

२०७८ असोज २५, ११:३३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिममा व्यावसायिक वातावरणले विस्तारै बामे सरिरहेको देख्न सकिन्छ। केही समय पहिले सुदूरपश्चिममा औंलामा गन्न सकिने व्यवसायी थिए। तर अहिले केही संख्यामा वृद्धि भएका छन्। गतिशील बनिरहेको बजारमा नियालेर हेर्यो भने नयाँ–नयाँ उद्यमी बजारमा आइरहेका देख्न सकिन्छ। भने, पुराना उद्यमी पनि बजारसँग प्रतिस्पर्धाको लागि आवश्यक पर्ने प्रविधि आत्मसात गर्दै र बजारका चुनौतीलाई केलाएर अगाडि बढिरहेका छन्। व्यवसायलाई अगाडि बढाई रहँदा सायद उनीहरुमा एउटा अर्को चिन्ता रहन्छ होला, भोलि आफ्नो व्यवसाय कसले हेरिदेला अर्थात् दोस्रो पुस्ताले व्यवसाय सम्हाल्ला कि नाई भनेर। 

त्यही अघि भनेका औंलामा गन्न सकिने व्यवसायीभित्र धनगढीका गोपाल हमाल पनि पर्छन्। त्यो बेलादेखि अहिलेसम्म पनि संघर्ष गर्दै अगाडि बढीरहेका व्यवसायी गोपाल हमालमा माथि उल्लेख गरिएको चिन्ता थियो या थिएन त्यो उनलाई नै थाहा होला। तर उनका छोरा अहिले हमाल परिवारले सुरु गरेको व्यावसायिक यात्रालाई अगाडि बढाइरहेका छन् अर्थात् व्यवसाय सम्हाली रहेका छन्। 

हमालका छोरा आयुषले प्रविणता तहसम्मको पढाई भारतको नैनितालबाट गरे भने बाँकी पढाई दिल्लीमा रहेको दिल्ली विश्वविद्यालयबाट गरे। औपचारिक पढाईको महत्त्व राम्रैसँग बुझेका र धनगढीमा पछिल्लो ३ वर्षदेखि व्यावसायिक कामले र यहाँको वातावरणले अझ बढी सिकाएको महसुस गरिरहेका २४ वर्षीय आयुष हमालसँग पदमराज जोशीले कुरा गरेका छन्। कार्यक्रम प्रभात विमर्श ‘उद्योग व्यवसायमा दोस्रो पुस्ता’ शृङ्खलामा गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ। 

व्यापारिक घरानाको भएपछि के सिकाइ हुँदोरहेछ ? 
मेरो व्यावसायिक उत्तरदायित्व त बच्चा हुँदादेखि नै थियो। तर व्यापारिक घरानाको कुरा गर्दा मेरो बुवा व्यापारी मात्रै हुनुहुन्न सबै कुरा हुनुहुन्छ। जब बुवा उद्योग वाणिज्य संघमा हुनुहुन्थ्यो म ७ वर्ष जतिको थिए। मलाई आफूसँगै जता पनि बैठकहरुमा लग्नुहुन्थ्यो।  पहिला चिउरा मिलमा पनि मलाई ‘ल यो हेर, त्यो हेर’ भन्नुहुन्थ्यो। थाहा त केही हुँदैन थियो तर पनि हेरिरहन्थे। यसरी पहिलादेखि उहाँलाई मान्छेहरुले कसरी प्रतिक्रिया दिइरहनु भएको छ, व्यवसाय कसरी अगाडि बढ्छ भनेर नजिकबाट सिक्न पाइयो। फेरि त्यहीँ बेला देखिनै के चाहिँ थाहा थियो भने फर्केर जे गरे पनि धनगढीमा नै गर्नुपर्छ, यहीँ नै कल्याण छ।

अघिल्लो पुस्ता जतिको संघर्ष दोस्रो पुस्ताले गर्नुपर्ने देख्नुहुन्छ ? 
बाहिर पढिरहेको हुँदा व्यापारिक रुपमा संघर्ष त्यति धेरै हुँदैन तर सांस्कृतिक रुपले संघर्ष गर्नुपर्छ जस्तो लाग्छ। बाहिर बस्दा फरक किसिमले बसिएको हुन्छ। यहाँ फर्केर आएपछि फरक हुन्छ। त्यसैले यहाँको समाजसँग घुलमिल हुनको लागि संघर्ष भइरहेको हुन्छ। व्यापारिक रुपमा त हामी दोस्रो पुस्तालाई जति सहज त सायद कसैलाई हुँदैन होला। केही बल त लगाउनु नै पर्यो। कडा मेहनत त गर्नु नै पर्यो।  तर नयाँ व्यवसाय थालनी गरेकाहरु भन्दा हामीलाई केही सहज हुन्छ। अर्को थोरै संघर्ष गर्नुपर्ने भनेको यहाँको वातावरणमा घुलमिलको लागि हो। जस्तो म पहाडनै पहाड बसे यहाँ धनगढी आइसकेको दुई वर्ष बाइकमा यताउता यात्रा गर्दा खुल्ला छाला र कपडाले ढाकिएको छालाको रंग नै फरक हुन थाल्यो। 

बाहिर पढाई गर्न गएको बेला त्यहाँको वातावरणले प्रभाव पारेर त्यहीँ बसौं भन्ने लागेन ?
दिल्ली गएपछि त त्यस्तो लागेन तर प्लस टु पढ्दा चाहिँ विदेश अर्थात् अमेरिका जानुपर्ला  र त्यहीँ काम गर्नु लागेको थियो। तर दिल्ली गएपछि भने त्यस्तो लागेन। धनगढी नै दिल्ली भन्दा विशेष लाग्यो। 

लगातार ३ वर्षसम्म धनगढीमा व्यवसाय गरिरहँदा कस्तो महसुस भएको छ ? सोचे जस्तै पाउनुभयो ?
जीवनभरीमा नपाइने गरिमा यहाँ पाएको छु। उदेश्यको भाव यहाँ छ। अहिले म आफैले ४० जना कर्मचारी हेरिरहेको छु। उहाँहरुको जीवनको हरेक कामको जिम्मेवारी मैले लिइरहेको छु। यसले उहाँहरु पुरै म माथि उत्तरदायी हुने भए म उहाँहरुमाथि। यो भावनाले उदेश्यको भावना दर्शाएको छ। हामी २०/३० वर्षको एकदमै जवानहरुको लागि उद्देश्यको भावना खोज्नुमा सबैभन्दा बढी गाह्रो हुन्छ। मैले त्यो उद्देश्यको भाव यहाँ भेटेकाले म सन्तुष्ट छु। मलाई सन्तुष्टि नै महसुस भएको छ। 

असफलताको डर के कति छ?
असफलताको डर त हुन्छ नै। कहिलेकाहीँ मुटु ढुकढुक पनि हुन्छ।  पहिला त झन सामान्य कुराले पनि गाह्रो नै भइसकेको हो कि हुन्थ्यो। तर पछि होइन यो त सम्हाल्न सकिन्छ लाग्न थाल्यो। डरकै कुरा गर्दा म शरीरको व्यायाममा ध्यान त जहिल्यै गर्छु। तर कुनै समय कुरा मनमा खेलाउनुपर्यो भने ज्यादै व्यायाम गर्ने गर्थे सुत्दा मनमा कुरा खेलाउन नपाउ भनेर।

 

कमेन्ट लोड गर्नुस