सुदूर नेपाललाई विश्वसँग जोड्दै

पढाईसँगै व्यवसायमा जमेकी धनगढीकी रश्मी

२०७८ असोज २१, ०४:२२ खबर संवाददाता

धनगढी: धनगढीकी व्यवसायी रश्मी धमलासँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 
व्यावसायिक क्रियाकलापमा प्रत्यक्षरुपमा काम गरिरहँदा कस्तो अनुभूति गरिरहनु भएको छ ?
अहिले स्नातकोत्तर गरिरहेकी छु। पढाईसँगै एक वर्ष पहिलेदेखि आफ्नो व्यवसायमा प्रत्यक्ष रुपमा लागेकी म अहिले सिक्ने क्रममा नै छु। पहिलो लकडाउन भन्दा पनि बढी प्रभाव पछिल्लो समय परेको छ। किन कि पहिला मान्छेसँग पैसा थियो तर अहिले पैसा कम छ। यो एक प्रभाव रह्यो भने पहिला मान्छेहरु एक किलो चिनीको लागि पनि पारी(भारत) दौडिने गर्नुहुन्थ्यो अहिले यो एकदमै घटेको छ। नेपाली उत्पादन, बजारलाई प्रोत्साहन गरिरहनु भएको छ। यो सकारात्मक छ मलाई पनि ठिक लागेको छ। 

तपाईंको अघिल्लो पुस्तालाई आफ्नो व्यावसायिक यात्रा सुरु गरिरहँदा कसरी सम्झिनु हुन्छ ?
मेरा लागि बुवा नै प्रेरणाको श्रोत हुन्। उहाँले कृषि कर्मबाट जति पैसा(३०–४०हजार)  जम्मा गर्नुभयो त्यहीँबाट व्यवसाय थाल्नुभयो। सानो अर्थात् शुन्यबाट उठाएर यहाँसम्म उहाँले नै ल्याउनु भएको हो। कसैले मेरो  प्रेरणाको के हो भनेर सोध्यो भने म त बुवालाई सम्झिन्छु। बुवा भन्नुहुन्थ्यो, ‘सपना ठूलो राख्नुपर्छ तर साधारण जिउनुपर्छ। कोही आर्थिक सहयोग माग्न आयो भने खालि हात फर्काउनु हुँदैन, घमण्ड गर्नुहुँदैन, मान्छे सधैं यहाँ रहँदैन। यहाँबाट गएपछि मान्छेले आफ्नो बारेमा राम्रो मात्रै सम्झने होस्।’ यही मैले पनि सिक्दै छु। मान्छेले पैसा कमाएर मात्रै हुँदैन सामाजिक हुन पनि सिक्नुपर्छ। कलेजको पढाई भन्दा पनि बढी मैले बुवाबाट सिकेकी छु।

व्यवसाय तपाईंको सपना हो या कुनै घटना क्रमले जोडिन पुग्नुभएको ?
म प्रविणता तहमा पढ्दै गर्दा बुवा बाहिर जानुभयो भने कहिलेकाहीँ पसलमा बस्ने गर्थे। यसबाट पनि थोरै लगाव त बढेको थियो। तर पछि जब म स्नातक पढ्दै गर्दा बुवा बिरामी हुनुे र व्यवसाय हेर्ने कोही भएन। बुवाले जसोतसो व्यवसाय त हेरिरहनु नै भएको थियो तर त्यसपछि मलाई आफैले सम्हाल्नुपर्छ जस्तो लाग्यो। नोबेलहरु आदि पढ्न थालेपछि रोजगार त निर्माण गर्ने हो। अरुलाई रोजगारी दिने पो हो भन्ने पनि लाग्न थाल्यो। मैले दुई जनालाई रोजगार दिनसके, कोही अरु दुईले चारलाई दिनसके भने सबैले बाहिर रोजगारीको लागि जानुपर्ने छैन। सबै परिवारसँग नै रमाउन सक्ने स्थिति हुने छ लागेर नै व्यवसायमा लागे।

औपचारिक पढाईको सवाल ?
अहिले स्नातकोत्तर गरिरहेकी छु। लगभग अब दुई वर्षमा पढाई सक्छु र पसलमा नै काम गर्ने सोचमा छु। 

वैदेशिक बसाईंको सपना हुन्छ। कोही पढाइका लागि त कोही रोजगारीको लागि जाने गर्छन्, तपाईंलाई कहिल्यै यस्तो लाग्यो कि लागेन ?
पूरै बाहिर जानुपर्छ भन्ने सोच त आएन तर स्नातकोत्तर गर्न जानुपर्ला भन्ने कहिलेकाहीँ सोचिन्थ्यो। बाहिरको वातावरण पनि बुझिन्छ, त्यहाँको संस्कृति परम्परा बुझ्न पाइएला भन्ने लाग्थ्यो। उनीहरु कसरी अगाडि बढिरहेका छन् सिक्ने मैका मिल्ला सोच्थे।

एक दिन एकजना सरले कक्षामा विदेशको बारेमा भन्नुभएको थियो, ‘बाहिर सोचेको जस्तो हुँदैन जुन यहाँ तिमीहरुले पढिरहनु भएको छ यसको पनि उता कुनै काम हुँदैन’ भनेर। यसरी सरले यी कुरा भनेपछि यहाँको पढाईको मुल्य न हुने भए के गर्ने लाग्यो। 

‘तिमीहरु सात लाख यहाँ खर्च गरेर पढ्छौ तीस लाख जति बाहिर खर्च गर्छौं। जम्मा जम्मी ३७ लाख खर्च गर्छौ। यो पैसा यहाँ केहीमा लगायौ भने राम्रै काम गर्न सकिन्छ’ भनेर पनि उहाँले भन्नुभएको थियो। 
फेरि बाहिर गएपछि उताकै वातावरणमा रमाउन थालेपछि फर्केर नआएका धेरै छन्। आफू पनि फर्किइने होइन कि भनेर पनि होला विदेश जाने त्यति ठूलो सोच आएन। 

 

कमेन्ट लोड गर्नुस