सुदूर नेपाललाई विश्वसँग जोड्दै

३५ बर्षदेखि स्तरोन्नतीको पर्खाइमा सेती अस्पताल

२०७५ मंसिर २७, ११:३५ नवराज पनेरु

३५ बर्षदेखि स्तरोन्नतीको पर्खाइमा रहेको सेती अस्पताल अस्पतालको सेवा खस्किदै गएको छ। अस्पतालको स्तरोन्नती नभएकै कारण सेवालाई प्रभावकारी बनाउन नसकिएको अस्पताल प्रशासनले बताउँदै आएको छ। विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल विक्रम सम्बत २०४० सालमा स्तरोन्नती भयो। अहिले पनि २०४० सालकै दरबन्दीमा अस्पताल सञ्चालन भएको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए। सेती अञ्चल अस्पतालमा ५० शैयामा नेपाल सरकारले स्वीकृत दिएको छ भने थप ७५ शैया अस्पताल आँफैले सञ्चालन गरेको छ। चलाउने अनुमति १ सय २५ शैयामा भए पनि बिरामीको चाप निकै बढि हुँदा झण्डै २ सय ५० शैया अस्पतालमा सञ्चालन रहेको डाक्टर पाण्डेयले बताए। साढे ३ दशकदेखि स्तरोन्नती नगरिदा अस्पतालमा जनशक्ती, संरचना र शैया अभावको बिकराल समस्या छ। अस्पतालमा सुदूरपश्चिमका ९ जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्यचौकी, जिल्ला अस्पतालहरु, महाकाली अञ्चल अस्पतालदेखी उप–क्षेत्रीय अस्पताल डडेल्धुरावाट पनि विरामी रेफर भएर आउने गरेका छन। २०४० सालकै दरबन्दीका चिकीत्सक पनि सेती अञ्चल अस्पतालले पाउन सकेको छैन्। अस्पतालमा मुटु रोग विशेषज्ञको दरन्दी सुरुवातदेखि नै रिक्त छ। 
अस्पतालको सेवा अस्तव्यस्त
सेती अञ्चल अस्पतालले उपलव्ध सेवा सुविधालाई पनि सहि सदुपयोग भने गर्न सकेको छैन्। अस्पतालका नर्सिङ कर्मचारीको रुखो व्यवहारले विरामी र तिनका कुरुवाहरु आजित हुने गरेका छन्। प्रसुती वार्डको अस्तव्यस्तताले आमा र शिशु नै असुरक्षित रहने अवस्था छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको नीजि अस्पतालहरुमा पनि लगानी हुँदा अस्पतालमा पुगेका विरामीलाई नीजिमा पठाउने गरेको समस्या धेरै बर्षदेखि जारी रहेको छ। चिकित्सक र अन्य स्वास्थ्य कर्मचारीको लापरवाहीले ज्यान नै गुमाउनु परेको गुनासो पनि बढ्दै गएको छ। बेला–बेला म्याद सकिएका औसधीहरुको प्रयोगले पनि अस्पतालप्रति नागरीकहरुको विश्वास घट्दै गएको छ। भर्ना भएका विरामीले पनि डाक्टर र अन्य स्वास्थ्य कर्मचारीलाई खोज्दै जानुपर्ने बाध्यता रहेको छ। 

मेसु टिकाउनै मुस्किल
प्रदेश नम्वर ७ का ९ जिल्लाका वासीन्दाको जनस्वास्थ्यसंग जोडिएको सेती अञ्चल अस्पतालमा पछिल्ला केहि बर्ष यता मेडीकल सुपरिटेन्डेन्ट अर्थात मेसु टिकाउन समस्या हुन थालेको छ। डाक्टर गणेश वहादुर सिह सेवा निवृत भएपछि सेती अञ्चल अस्पतालमा थुप्रै मेसु भईसकेका छन् तर अधिकासंले आफ्नै खुसीमा मेसुको पद त्यागेका छन्। 
झण्डै डेढ दशक सम्म सेती अञ्चल अस्पतालमा मेडीकल सुपरिटेन्डेन्ट रहेका डाक्टर गणेश वहादुर सिह सेवानिवृत भएपछि अस्पतालको नेतृत्व पाएका कसैले पनि लामो समय मेसु भएर बस्न नमानेका हुन्। डाक्टर सिंहपछि मेसुको जिम्मेवारी पाएका ११ औँ तहका डाक्टर विसनसिह बोहराले अस्पतालमा नेतृत्व गर्ने ईच्छा नै व्यक्त गरेनन। त्यसपछि मेसुको जिम्मेवारी सहित अस्पतालमा आएका डाक्टर सुर्य वहादुर गुरुङ त विदा लिएर काठमाडौ एक तर अस्पतालमा फर्किएनन्। डाक्टर गुरुङले मेसुबाट छोडेपछि डाक्टर अशोक श्रृपाईलीलाई मेसुको जिम्मेवारी दिईयो उनले पनि आफ्नै खुसीले बर्ष दिन नपुग्दै राजीनामा दिए। पछिल्लो एक बर्ष मेसुको जिम्मेवारी सम्हालेका डाक्टर सजन केसीले पनि मेसु पद छोडेर भरतपुर अस्पताल गईसकेका छन्। अहिले सेती अञ्चल अञ्चल अस्पतालमा ११ औँ तहका डाक्टर हेमराज पाण्डेयलाई मेडीकल सुपरिटेन्डेन्ट अर्थात मेसुको जिम्मेवारी दिईएको छ। सामाजिका विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयले डाक्टर पाण्डेयलाई मेसुको जिम्मेवारी दिएको हो। उनलाई पनि ईच्छा विपरित सामाजिक विकास मन्त्रालयले मेसुको जिम्मेवारी दिएको श्रोतको दावी छ। 
पछिल्लो केहि बर्षयता लामो समय सम्म कोही पनि टिक्न नसक्ने समस्याले अस्पतालको व्यवस्थापन चुस्त बनाउदै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको छ। श्रोतका अनुसार सेती अञ्चल अस्पतालमा मेडीकल सुपरीटेन्डेन्ट नटिक्नुको कारण बर्षौदेखि अस्पतालमा कार्यरत प्रशासनीक कर्मचारी पनि हुन्। उनीहरुले आफ्ना पार्टी निकटका मेसुलाई सहयोग गर्ने र अन्यलाई हटाउनका लागि चलखेल गर्ने गरेको बुझीएको छ। औसधी खरिददेखि अस्पताल अन्य काममा कमिसन खादै आएका कर्मचारीहरुले मेसुलाई पनि आफ्नै मातहतमा चलाउन खोज्ने र केहि सुधार गर्न खोजे निकाल्नका लागि चलखेल गर्ने गरेको श्रोतले जनाएको छ। चिकित्सकहरु पनि ड्युटी सयममा निजि अस्पतालमा व्यस्त हुने परिपाटीले कार्यालय प्रमुखलाई असहज हुने गरेको छ । 
नेताको ३ सय र ५ सय शैया खै ?
सेती अञ्चल अस्पताललाई तीन सय शैयाको बनाउने निर्णय गराएको भन्दै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रचार गरिएको झण्डै एक बर्ष पुग्दा समेत अस्पतालले स्तरोन्नतीको पत्र पाएको छैन्। अस्पताल प्रशासनका अनुसार निर्वाचनका बेला तीन सय शैयामा स्तरोन्नती भएको खवर पाएको झण्डै एक बर्ष पुग्दा समेत स्तरोन्नतीको पत्र भने नपाईएको हो। मंसिर २१ गते भएको प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको मुखैमा सेती अञ्चल अस्पतालाई आफ्नो पहलमा तीन सय शैयामा स्तरोन्नती गराएको भन्दै नेपाली काग्रेसकी नेतृ आरजु देउवाले चुनाव प्रचार गरेकी थिईन्। तर मन्त्री परिषदको बैठकले ठाडो निर्णय गरेको भन्दै प्रचार गरेको एक बर्ष पुग्नै लागेको छ अस्पताल स्तरोन्नती हुन त परै जावस अस्पताललाई स्तरोन्नती भएको आधीकारी जानकारी सहितको पत्र समेत आएको छैन्। 
चुनावको मुखमा सरकारले आचारसहिंताको उल्लंघन गर्दै सेती अञ्चल अस्पतालालई ३ सय शैयाको वनाएको भन्दै कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट वाम गठवन्धकनका उम्मेदवारले आलोचना समेत गरे। राणाले तीन सय शैयाको अस्पताल बनाउने निर्णय गराएको भन्दै प्रचार गर्दा बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले ५ सय शैयाको प्रादेशिक अस्पताल वनाउने दावी गरे। सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न ५ सय शैयाको प्रादेशीक अस्पताल बनाउने एजेण्डा सहित विजयी भएका रानाले अहिले पनि अस्पतालको स्तरोन्नती भईसकेको दावी गर्दै आएका छन्। उक्त विषयमा अस्पताल प्रशासनलाई भने जानकारी छैन्। संरचना, शैया, जनशक्ती र उपकरण नथपेरै सेती अञ्चल अस्पताललाई प्रादेशीक अस्पताल बनाउने निर्णय भने भएको छ। स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको बेला अस्पताललाई ३ सय र ५ सय शैयामा स्तरोन्नती गराउने विषयमा निकै चर्चा परिचर्चा भएपनि प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अहिलेकै संरचना, शैया, जनशक्ति र उपकरणमा अस्पताललाई प्रादेशीक नामाकरण गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय पनि कार्यान्वयन हुन बाँकी छ। 

भएकै दरबन्दी पनि रिक्त
नेताहरुले ३ सय र ५ सय शैयाको भाषण गर्दै चुनाव प्रचार गरेपनि अस्पताल प्रशासन भने भएकै दरबन्दी पनि कहिले पुरा होला भन्ने चिन्तामा देखीएको छ। अस्पतालमा ११ जना विशेषज्ञ सहित १८ जनाको दरबन्दी रिक्त छ। प्रदेश ७ कै रेफ्ररल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा साढे तीन दशक पुरानो दरबन्दी समेत पदपुर्ती हुन नसक्दा २८ लाख जनताको जनस्वास्थ्यमाथी खेलवाड भईरहेको छ। 

स्तरोन्नतीका लागि सर्वे पनि बाँकी
नेताहरुको भाषणमा सेती अञ्चल अस्पताल ३ र ५ सय शैयामा स्तरोन्नती भईसकेपनि अस्पतालको आवश्यकता पहिचानका लागि सर्वे समेत हुन बाँकी रहेको छ। स्तरोन्नती हुँन पहिले अनिवार्य रुपमा गर्नै पर्ने ओएनएम सर्वे अर्थात आवश्यकता पहिचानका लागि गर्नु पर्ने सर्वे अहिले सम्म सुरु समेत भएको छैन्। अस्पताल प्रशासनका अनुसार अहिले सम्म स्तरोन्नतीका लागि आवश्यक उपकरण, जनशक्ति, भौतीक संरचना लगायतका विषयमा सर्वे गर्नै बाँकी छ र अहिले सम्म सुरु पनि भएको छैन्। सेती अञ्चल अस्पताल ३५ बर्षदेखि स्तरोन्नतीको पर्खाईमा छ। अञ्चल अस्पताल भनिएपनि ९ जिल्लाकै विरामीको चाप अस्पतालमा छ भने विरामीको चाप अनुसार न भौतीक संरचना छ न जनशक्तिको आवश्यकता अनुसार उपकरण छन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस