सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने ‘ड्रिम’ अलपत्र

धनगढी प्रिमियर लिग डीपीएल आयोजना हुँदा दर्शकले भरिभराउ फाप्ला मैदान
धनगढी प्रिमियर लिग डीपीएल आयोजना हुँदा दर्शकले भरिभराउ फाप्ला मैदान
२०७८ असोज १५, ०३:२० कमल सावद

धनगढी : सुदूरपश्चिम सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि २०७५/०७६ मा ५ करोड बजेट विनियोजन गर्यो। प्रदेशका तत्कालीन आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले प्रादेशिक गौरवको आयोजनाको रुपमा विकास गर्ने बजेट भाषण मार्फत घोषणा गरे। 

अर्को वर्ष ०७६/०७७ मा एक करोड २५ लाख मात्र बजेट विनियोजन गरियो। प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आएको सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षबाट फाप्लालाई प्रादेशिक गौरवको योजनाबाट समेत हटाएको छ। सोही कारण चालू वर्षमा फाप्लाका लागि वजेट विनियोजन भएको छैन। 

प्रदेशको सामाजिक विकास मन्त्रालयले जग्गा प्राप्तिका लागि संघीय गृह मन्त्रालयमा फाइल पठाएको छ। गृह मन्त्रालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय पुगेको फाइल फेरि फिर्ता भएको ड्रिम फाप्लाका अभियानकर्ता सुवाश शाहीले बताए। ‘निजी क्षेत्रबाट फाप्ला क्रिकेट मैदानको गुरुयोजना नै बनिसकेको छ,’ उनले भने, ‘ड्रिम फाप्ला अभियानबाट पनि मैदान निर्माणका लागि ८ लाख संकलन भएको छ। प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) मोडेलबाट मैदान निर्माण गर्दा सबैभन्दा उपयुक्त हुन्छ।’

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि जग्गा प्राप्तीको काम पूरा नभएकाले भौतिक संरचना निर्माणको काम सुरु समेत भएको छैन। फाप्ला क्रिकेट मैदान निर्माणका लागि तीन तहको सरकारले अहिलेसम्म झण्डै ४० करोड बजेट विनियोजन गरे पनि जग्गाको भोगाधिकार नै नपाएपछि बजेट फ्रिज जाँदै गएको छ। संघीय सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेट वक्तव्यमा धनगढीको फाप्लालाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेको थियो। 

तर जिल्ला प्रशासन कार्यालय कैलाली मातहतमा रहेको भनिएको जग्गाको भोगाधिकार प्रदेश सरकारसंग छैन। जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह अहिलेसम्म संघीय सरकारको ६० लाख मात्रै फाप्ला क्रिकेट मैदानमा खर्च भएको बताउँछन्। ‘उक्त बजेटले मैदानमा पिच निर्माण भएको छ भने भने तारवारसमेत भइसकेको छ,’ सिंहले भने। 

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणमा संघीय सरकारको ६० लाख खर्च भएको छ। पिच निर्माण र तारवारमा उक्त रकम खर्च भएको हो। यता संघीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गा कस्को हो ? स्पष्ट नभएकाले फाइल फिर्ता पठाएको बताए। उनले भने, ‘फाइल फिर्ता पठाएका छौ। केहि सच्याउन छ। अब भइहाल्छ।’

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस