सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेमबहादुर घर्तीको बयानः नारायणहिटीबाटै श्रीपेच लाएर शासन चलाउन मन लाग्यो

२०७८ असोज ९, ०३:४४ खबर संवाददाता

काठमाडौंः रुकुममा खेमबहादुर घर्ती शुक्रबार टिकट काटेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालयभित्र प्रवेश गरे। संग्रहालयको द्वारबाट छिरेपछि राजदरबार हेर्दै अघि बढे। राजदरबारभित्र प्रवेश गरेपछि उनी श्रीपेच राखेको सोकेश नजिकै पुगे। सोकेशभित्र रहेको श्रीपेच राम्रोसँग हेरे। छुन खोजे तर, सिसाभित्र थियो, श्रीपेच। त्यसपछि उनको मानसपटालमा एकाएक राजा हुने सपना आउँछ।

मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकैको खुकुरी राखेको सिसा फुटाए। सिसाले हात काट्यो। रगत बग्न थाल्यो तर, उनी रोकिएनन्। त्यसपछि खुकुरीको सिसामा हिर्काएर श्रीपेचको सोकेशतिर अघि बढे। यसअघि सिसा फुटाएपनि उनले खुकुरी निकाल्न असफल भए थिए।

अघि बढेर श्रीपेचको सोकेशमा प्रहार गर्न खोज्दा नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लियो। काठमाडौंको म्हैपी बस्ने घर्ती अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन्। २५ वर्षीय घर्तीले के कारणले श्रीपेच चोर्ने प्रयास गरे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

तर, हालसम्मको अनुसन्धानमा त्यस्तो कुनै योजनाबद्ध ढंगले घर्तीले श्रीपेच चोर्न खोजेको देखिएको छैन। प्रहरीसँग ‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ’ भनेर बयान दिएका छन्। उनले अनुसन्धानमा खटिएका टोलीलाई श्रीपेच लगाएर नारायणहिटीमा बसेर शासन चलाउने सोच आएको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस