कैलालीमा दुई फरार प्रतिवादी पक्राउ
कैलाली: जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा भएका फैसलाअनुसार कैद तथा जरिवाना तोकिएपछि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
फैसला कार्यान्वयनका क्रममा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले असोज ८ गते उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–९ का २३ वर्षीय भीमबहादुर रावल र घोडाघोडी नगरपालिका–१० का २९ वर्षीय सन्तोष विक रहेका छन्।
रावललाई ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। त्यस्तै, विकलाई सवारी ज्यान मुद्दामा १ वर्ष कैद सजाय तोकिएको थियो।
अदालतबाट फैसला भई कैद तथा जरिवाना कार्यान्वयन हुन बाँकी रहेका उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।