सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तताउन राखेको दुध 'रबर' जस्तै बनेपछि...(भिडिओसहित)

२०७८ असोज ८, ०५:३४ विन्दु चन्द

धनगढीः बिहीवार धनगढीकी गीता कुँवर आफन्तको जन्मदिन मनाउन एक डेरीबाट १० लिटर दुध लिएर गइन्। घर लगेर उनले उक्त दुघ तताउन राखे। तर  तात्न थालेपछि दुध रबर अर्थात प्लास्टिक जस्तो भयो। ‘सुरुमा त हामीले दुध राम्रो छ, बाक्लो छ भन्ने सोच्यौं तर पछि पानी अलग र दुध रबर जस्तो भएर अलग भयो। हेर्दा खानै नसक्ने खालको थियो’ उनले भनिन्। 

सोही डेरीमा जानकारी गराउँदा डेरी सञ्चालकले उल्टै आफुहरुको नै गल्ती भएको आरोप लगाएको कुवँरले बताइन्। ‘दुध यस्तो प्लास्टिक जस्तो भयो भन्दा सञ्चालकले होइन तपाईहरुले नै गल्ती गर्नुभयो भनेर भन्न थाले। दुध फाटेको त हामीलाई पनि थाहा हुन्छ नि,’ उनले भनिन्, ‘फाटेको दूध त दानादाना जस्तो हुन्छ। यसरी प्लास्टिक बनेको त हामीले  कतै देखेनौँ।’

उनले धनगढीको पुरानो सब्जीमन्डीस्थित सफल दुध डेरीबाट दुध खरिद गरेका थिइन। डेरीले दुधलाई बाक्लो बनाउन केही मिसाएको हुनसक्ने उनको अनुमान छ। तर यता डेरी सञ्चालिका अनिता भण्डारीले भने आफुहरुले दुधमा कुनै पनि चिज नमिसाएको बताइन। ‘मेरो मात्रै  होइन यो भन्दा पहिले पनि अन्य डेरीबाट लगेको दुध पनि यस्तो बनेको देखेकी छु।  दुधमा मैले केही मिश्रण गरेकी होइन।  ढिलो तताउदा कहिलेकाहिँ यस्तो हुन्छ’ उनले भनिन्। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले भने उक्त दुध गुणस्तरहिन भएको बताएका छन्। ‘दुध नफाटोस भनेर धेरैले सोडा लगायतका विभिन्न चिज मिश्रण गर्छन् तर अहिले धनगढीमा त्यस्तो भेटिएको छैन’ उनले भने।

कसरी दूषित हुन्छ दुध ?
सरसफाइमा ध्यान नदिई दुध दुहुँदा, चिस्याउँदा र सङ्कलन एवम् प्रशोधनका क्रममा दूषित पानी र उपकरणको संसर्गबाट दूधमा कोलिफर्म र अन्य सूक्ष्मजीव मिसिने गर्छन्। दुध नफाटोस् भनेर धेरै किसान र सङ्कलकले क्षारीय गुण भएका कस्टिक सोडा, डिटर्जेन्ट, फर्मालिन आदि विभिन्न रासायनिक पदार्थ नियतवश मिसाउने गरेको जानकारहरू बताउँछन्।

पर्याप्त परीक्षण नगरी दुध सङ्कलन गरिने र प्रशोधन पनि विधिपूर्वक नहुँदा बजारमा गुणस्तरहीन दुध पुग्ने गर्छ। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस