कैलालीकी ललिताका दुःखः ढाँटेर बिहे गरेका श्रीमानले माइतीको जग्गा पनि छाडेनन्
धनगढीः जन्म, विवाह, घर–परिवार, सन्तान, मृत्यु जीवनको अंशहरु हुन्। जीवन सबैले सोचे जस्तो भने हुँदैन। तर पनि मानिस जीवनलाई सार्थक बनाउन अनेक संघर्ष र गतिविधि गर्दै आएको हुन्छ। कसैका गतिविधि समाजलाई पच्ने होलान् त कतिका समाज तथा देशका लागिसमेत नपच्ने, गैरकानूनी होलान।
श्रीमानले समाजका लागि नपच्ने गतिविधि गरेको भन्दै कैलालीको एक जोडीको दाम्पत्य जीवनमा दरार पैदा भएको छ। जसले गर्दा उनीहरु अहिले सँगै छैनन्। श्रीमती माइती घरमा बस्दै आएकी छिन् भने श्रीमान फरार छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडाकी ललिता कडायत शिक्षण पेशामा थिइन्। उनी बझाङको एक विद्यालयमा अध्यापन गराउँदै आएकी थिइन्। उनको विवाहको कुरा घरमा सुरु भयो। मानसिक, शारीरिक तथा शैक्षिक रुपमा विवाहका लागि तयार भएकी उनको विवाहका लागि आमाबुवाले आग्रह गरे। उनी पनि राजी भइन्। कैलालीकै चुरे गाउँपालिका वडा नम्बर १ निगालीका सुवास धामीका बुवा र दाईहरु ललिताको हात माग्न आए।
वनबेहडामा रहेको कडायतको परिवारले सुवासको घरपरिवार, शैक्षिक योग्यता, जीवनशैली, सम्पति लगायतका बारेमा जानकारी मागे। सुवासका बुवाले छोरो राम्रो भएको दाबी गरे। शिक्षण पेसामा गरिरहेकी बुहारी पाउने भन्दै उनीहरु सायद मख्ख थिए होलान्।
कडायत र धामी परिवारको समझदारीमा सुवास र ललिताको २०७२ माघ २१ गते विवाह भयो। हिन्दु संस्कार अनुसार भएको विवाहमा खडायत पक्षले दाइजोको पनि व्यवस्था गरेका थिए। उनीहरुले जमिनसहितका दाइजो दिए। विवाह निगाली गयो। ललिता र सुवास श्रीमान श्रीमती भए। तर उनीहरु चार दिन मात्र निगालीको घरमा बसे। सुवासका परिवारले घरमा बस्नै दिएनन्। उनीहरु चार दिनमा घरबाट निस्किए। ललिता र सुवास कोठा भाडामा लिएर तराइमा नै बस्न थाले।
तर हात माग्न आउँदा सुवासको अत्तरियामा पनि घर रहेको भनिएको थियो। त्यो झुटो सावित भयो। तराईमा कुनैपनि ठाउँमा सुवासका परिवारको घर थिएन। तराईमा घर नभएपछि उनीहरु भाडाको कोठामा बस्न थालेका थिए। कक्षा १० अर्थात एसएलसी पास गरेको दाबी गरेका सुवासको भारतीय शैक्षिक योग्यताका प्रमाणपत्रहरु भेटिए। सुवास एसएलसीमा पटकपटक फेल भएका रहेछन्। तर बिहे भइसकेकाले ललितालाई त्यो कुरा ठूलो लागेन।
विदेश जाने लफडा
बिहेपछि ललिता बझाङको विद्यालयमा पढाउन थालिन्। सुवास तराइमै थिए। सुवासले विदेश जाने प्रस्ताव राखे। सुवास विदेशको तयारी गर्न थाले। ललिताले उनलाई सघाउन थालिन्। श्रीमतीको कमाइसँगै उनले ऋण पनि लिए। सुवास वैदेशिक रोजगारीको तयारी गर्न भन्दै काठमाडौं गए। भारतको दिल्ली पनि धाए। उनको लक्ष्य थियो, युरोपका देशहरुमा जाने।
तर पटकपटक काठमाडौं र दिल्ली धाउदा समेत सुवासको युरोप जाने सपना पूरा भएन। सुवासकी श्रीमती मलेसिया लगायतका खाडी मुलुकमा भएपनि जान आग्रह गर्दै थिइन्। तर उनले रसिया, माल्टा, पोल्याण्ड, पोर्चुगल लगायतका यूरोपका देशहरुमा जाने जिद्दी गर्दै बसे। उनले चार वर्ष विदेशको तयारीमा बिताए। त्यो कुरामा मनमुटाव सुरु भयो।
उनीहरु बीचमा झगडा हुन थाल्यो। साथ नदिएको भन्दै सुवास रिसाउन थाले। घरमा शान्ती हराउदै गयो। वैदेशिक रोजगारीको योजनाले दाम्पत्य जीवनमा दरार पैदा गर्न थाल्यो। उनीहरु ऋणमा थिए। खान बस्नको समेत समस्या हुन थाल्यो। बझाङका शिक्षकहरुसँग पनि सुवास झगडा गर्न थाले। वनबेहडा क्षेत्रका ललिताका विद्यार्थीसँग पनि उनले झगडा गर्न थाले। कसैसँग नबोल्न भन्न थाले। श्रीमानको परिवर्तन भएको व्यवहारले ललिताले जागिर छाडिन्। उनी सुवाससँगै बस्न कैलाली आइन्।
चौधरी ग्रुपमा काम पाएको झुट
विवाह गरेको चार वर्ष बित्यो। श्रीमान विदेश गएनन्। तर उनले अर्काे झुट बोल्न सुरु गरे। ललिता बझाङबाट आएपछि चौधरी ग्रुपको बजार व्यवस्थापन पदमा रोजगारी पाएको सुवासले बताए। उनले मासिक ३५ हजार तलब रहेको बताएका थिए। तर उनीसँग नियुक्तिपत्र भने थिएन्। ललितालाई शंका लाग्यो। सोधखोज गर्न खोजिन तर श्रीमान रिसाए। एक पटक औषधि गर्न धनगढी आउँदा ललिताले कार्यालय देखाउन भने, तर सुवासले मानेनन्। उनले धनगढीको आफ्नो कार्यालय भित्री क्षेत्रमा रहेको दाबी गरे। ललितालाई सुवास चौधरी ग्रुपमा काम गरे नगरेको बारेमा अहिलेसम्म कुनै जानकारी छैन।
ससुरालीको जमिन धितोमा राखेर ७ लाख ऋण
वनबेहडा क्षेत्रमा कडायत परिवाको ठूलो बस्ती छ। अछामबाट उनीहरु धेरै पहिले आएका हुन्। उनीहरुसँग जमिन पनि धेरै छ। तर सबै शिक्षित छैनन्। ललिताका बुवा थिएनन्। ज्वाइँ शिक्षित रहेको उनीहरुमा विश्वास थियो। भारतमा काम गर्दै आएका ललिताका कान्छा काकाले तरकारी खेती गर्ने योजना बनाए। उक्त काममा सुवासले सहयोग गर्ने उनको सोच थियो। उनलाई रकम आवश्यक पर्ने भयो। तरकारी खेती गर्न ऋण पाउने तरिकाका बारेमा उनमा कुनै उपाय भने थिएन्। छोरीका श्रीमान सुवाससँग उनले सहयोग मागे। तरकारी खेतीपछि सबैले काम पाउने विश्वास कडायतत परिवारको थियो। अत्तरियाको एक लघुवित्तबाट ऋण लिने योजना तयार भयो। ललिताका काकालाई ३ लाख मात्र आवश्यक थियो। तर सुवासले ७ लाखको योजना बनाए।
सुवासले कान्छा सुसुरालाई आग्रह गदै आफूले खर्च गरेको रकमको ब्याज र साँवा आफै तिर्ने बताए। एकदिन बिहानै ललिताका काकालाई अत्तरिया बोलाइयो। जमिन धितोमा राखेर ७ लाख ऋण लिने सबै कागजपत्र तयार भयो। लघुवित्तले १५ दिन पर्खन भन्यो। उनले ज्वाईंलाई रकम कहिले आउँछ भनेर सोध्न थाले। सुवासले ऋण नपाएको भन्दै कान्छा ससुरालाई टार्दै गए। उनले पाँच महिनासम्म झुट बोलिरहे। सुवासले झुट बोल्दै आएको पाँच महिना बित्यो।
एक दिन सुवासका कान्छा ससुरा अत्तरिया आए। त्यहाँ उनले ज्वाइँले लघुवित्तबाट २०७७ कार्तिक २३ गते ७ लाख ऋण लिएको उनले जानकारी पाए। तर कान्छा ससुरालाई एक रुपैयां पनि दिएनन्। त्यसपछि ललिताकी आमालाई ऋणको घटना सुनाए। श्रीमानले ऋण लिएको ५ महिना हुँदा पनि ललिता अनभिज्ञ थिइन। आमा र बहिनीबाट उनले सबै कुरा थाहा पाइन्। उनले श्रीमानलाई त्यो बारेमा सोधिखोजी गर्न थालिन्। माइतीको झमेलामा नफस्न उनले आग्रह गरिन्। तर श्रीमानले उल्टै झगडा गरे। ऋण नलिएको उनले दाबी गर्दै बसे।
तर ललितालाई त्यो दाबी साँचो लागेन्। लालपूर्जा रोक्का भएकाले त्यो बारेमा सोधिखोजी गर्न ललिताले आग्रह गरिन्। तर श्रीमानले मान्दै मानेनन्। त्यसपछि लघुवित्तसँग उनले फोनमार्फत कुरा गरिन्। लालबहादुर कडायत ऋणी भएको तर रकम सुवासले लिएको लघुवित्तले भन्यो। ७ लाख ऋणको विषयले ललिताका श्रीमान श्रीमतीका बिच झगडा भयो।
उनी २०७८ जेठ २ गते कान्छा काकाको घरमा गइन्। श्रीमान भाडाको कोठा मै थिए। सोहि दिन श्रीमान कोठाबाट निस्किए। कोठामा श्रीमानका लुगा थिएनन्। श्रीमानले कागजपत्र पनि लगेका थिए। मोटरसाइकल पनि थिएन। ललिताले अचम्म मानिन्। उनले सोचिन माइती सबैले रकम लिएको जानकारी पाएपछि श्रीमानले रकम दिन खोजेका होलान। उनले फोन गरिन् तर फोन उठेन्। उल्टै फोन बन्द भयो। मोटरसाइकलमा गएका श्रीमानको खोजीका लागि उनले इलाका प्रहरी कार्यालय चौमालामा निवेदन दिइन्। निगालीमा रहेको घरमा समेत उनले सम्पर्क गरिन्। तर सम्पर्क भएन।
ललिताले सासुलाई फोन गरिन्। उनले १५/२० दिनपछि निगालीमा श्रीमान रहेको जानकारी पाइन्। ससुरालीको जमिन धितोमा राखेर ७ लाख ऋण लिएको उनले सासुलाई भनिन्। कान्छा काकालाई पनि उनले ऋणको बारेमा तनाव नदिन भनिन्। लघुवित्तलाई पनि त्यो बारेमा जानकारी भयो। लघुवित्तले सुवासलाई बोलायो। ललिता र उनका काका पनि अत्तरिया आए। सुवासले भदौ ३० गते भित्र सबै ऋण तिर्न कागज बनाए। श्रीमानलाई कोठामा जान उनले आग्रह गरिन्। गल्ती भएपनि ऋण तिरौला उनले भनिन्। तर श्रीमानले मानेनन्।
दाइजो आएको खेतमा घर
उक्त घटनापछि कोठा भाडा नदिएको पनि ६ महिना भएको थियो। कोठामा खानुकुरा थिएन। ललितालाई पेट पाल्नै मुस्किल थियो। कोठा भाडाका लागि रकम हुने कुरै भएन। उनले कोठा भाडामा नबस्ने निर्णय गरिन्। दाइजोमा आएको जमिनमा घर लगाउने आमासँग सहमति भयो। तर काठ थिएन्। आमा छोरी वनबाट काठ बोक्न थाले।
वर्षातको समयमा त्यो सम्भव नहुने भन्दै कडायत परिवारले काठ दिएका थिए। घर बनाउन सुरु भयो। उनलाई माइतीहरुले सहयोग गरे। तर घरको छानो निर्माणमा ललितालाई सास्ति भयो। त्यहिबेला वडाअध्यक्ष कमला शमाले जनताआवास कार्यक्रममार्फत टिन र रड दिने बताइन्। केहि दिनमा उनलाई ५० हजार बराबरको सामग्री आयो। ललिता अहिले सोही घरमा बस्दैछिन्।
धितो सुनमा लफडा
अत्तरियामा रहेको राष्ट्रिय बाणिज्य बैँकमा ललिताको सुन धितोमा थियो। यही असार १६ गते श्रीमानसँग उनको फोनमा कुरा भयो। १७ गते बिहान ११ बजे बैँकमा भेट्ने उनीहरुको सहमति भयोे। सुन बिक्रि गर्ने कुरा भयो। तर घटनाले मोड अर्कै लियो। १६ गते राति उनका श्रीमान साथीहरुसहित कोठामा आए। ललिता माइती घरमा थिइन्। तर सुवासलाई घरबेटीले कोठामा प्रवेश गर्न दिएन। रातिको समय भएकाले घरबेटीले ललितालाई फोन गरिन। सुवास ४/५ जनाको समूहमा अएका थिए। घरबेटीलाई सुवासले सामान लिन आएको भन्दै थिए। कोठाको भाडासमेत नतिरेको भएकाले घरबेटीले सामान दिइनन्।
त्यसपछि ललिता कोठामा आइन। तर श्रीमान भागिसकेका थिए। ललिताको फोनसमेत सुवासले उठाएनन्। बैँकमा रहेको दाइजोको सुन छुटाउने भनेका श्रीमानप्रति उनको विश्वास हरायो। ललिताले निगाली फोन गरिन्। उनले श्रीमानले गरेको कामको बारेमा सबै भनिन्। तर घर परिवारबाट उनलाई कुनै सहयोग भएन।
न्यायिक समितिमा मुद्दा
ललिताका श्रीमान सम्पर्कमा थिएनन्। फोन बन्द हुने, फोन लागेपनि उनी कुरा गर्न चाहान्थेनन्। ललिताले मिलेर ऋण तिर्ने, माइतमा निर्माण गरिएको घरमा बस्न प्रस्ताव गरिरहिन्। तर सुवासले उल्टै धम्की दिन थाले। ललिता र सुवासका कारण माइती पक्ष पनि तनावमा भए। विवाह गरेर लगेका ज्वाइँले छोरीलाई वास्ता नगरेको बुझाइ उनीहरुको थियो।
असार २९ गते ललिताले न्यायिक समितिमा निवेदन दिइन्। त्यहाँ सुवासलाई १५ दिनको समय दिइयो। तर सुवास न्यायिक समितिमा आएनन्। चुरे गाउँपालिकामार्फत निगाली पत्रसमेत न्यायिक समितिले पठाए। सुवास त्यहाँ पनि आएनन्। साउन २५ गते उनी गौरीगंगा नगरपालिकाको न्यायिक समितिमा गए। त्यहाँ उनले ललिताले आफ्नो बद्नाम गरेको दाबी गरेका थिए। उनले उल्टै ललिताका बैँकमा ऋण बढाउने कुरा गरेका थिए। बैँकबाट सुवासले ऋण बढाउन चाहेको भन्दै ललितालाई सूचना आयो।
सुवास अझै फर्किएका छैनन्। न्यायिक समितिले अंश मुद्दामा जान भनेको थियो। तर ललिता जाने पक्षमा छैनिन्। उनी सुवासलाई सम्झाउने पक्षमा छिन्। श्रीमानसँगै घर परिवारले पनि वास्ता नगरेमा पछिसम्म मुद्दामा जाने उनको सोच छ।
(ललिता कडायत धामीसँगको कुराकानीमा आधारित)