सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारीलाई अदालतको अनौठो सजाय, ६ महिना महिलाको कपडा धोएर आइरन गर्न आदेश

फाइल फोटो
फाइल फोटो
२०७८ असोज ८, ०१:३९ खबर संवाददाता

धनगढीः बलात्कारका आरोपीलाई अदालतले निकै अनौठो र विचित्रको सजाय सुनाएपछि अहिले त्यसको चर्चा भइरहेको छ। भारतको बिहार राज्यको मधुबनी एडिजे अदालतले बलात्कारका आरोपीलाई ६ महिनासम्म महिलाको कपडा निःशुल्क धोइदिन र आइरन गरिदिन आदेश दिएको छ। आरोपी पेशाले धोबी हुन्। झंझरपुर अदालतका एडिजे अविनाश कुमार प्रथमले आरोपी ललन कुमार साफीलाई यस्तो विचित्र शर्तमा जमानतमा रिहा गरेका हुन्।

२० वर्षका ललन कुमारलाई १७ अप्रिलमा एक महिलासँग अभद्र व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लगाइएको छ। १९ अप्रिलमा उनलाई पक्राउ गरिएको थियो। यो मुद्दामा चार्जशिट दर्ता भइसकेको छ। दुवै पक्षमा सम्झौता पनि भइसकेको छ। अदालतमा आरोपी ललनका वकिलले भनेका थिए कि उनका क्लाइन्टले आफ्नो पेशाको माध्यमबाट समाजसेवा गर्न चाहन्छन्। त्यसपछि अदालतले ललन कुमारलाई यस्तो सजाय सुनाएको हो।

हिन्दूस्तान टाइम्सका अनुसार अदालतले ललन कुमारलाई ६ महिनासम्म गाउँका सबै महिलाको कपडा निःशुल्क धने र आइरन गर्ने शर्तमा जमानतमा रिहा गरेका छन्। अदालतले ६ महिनापछि आरोपीले गाउँका मुखिया, सरपंच वा सरकारी अधिकारीबाट आफूले तोकिएको अवधि शर्तअनुसार काम गरेको प्रमाण पत्र लिएर त्यो प्रमाण पत्र अदालतमा पेश गर्न समेत आदेश दिएको छ। आरोपीले शर्तको पालना गरेको निगरानी गर्नको लागि गाउँका सरपंच वा मुखियालाई पत्र पनि पठाइएको छ।

एडिजे अविनाश कुमार आफ्ना अनौठा फैसलाको लागि परिचित छन्। गएको अप्रिलमा एक शिक्षकले कोरोनाकालमा स्कुल खोलेका थिए। ती शिक्षकलाई ५ जना गरिब बालबालिकालाई १ कक्षादेखि ५ कक्षासम्म ३ महिनासम्म निःशुल्क पढाउने शर्तमा जमानत दिइएको थियो। यसबाहेक कुटपिटका एक आरोपीलाई उनले आफ्नो घर वरिपरीका नाली सफा गर्न आदेश दिएका थिए। यसबाहेक एक डकर्मीलाई उनले मन्दिरमा एक महिनासम्म राजमिस्त्रीको काम गर्ने शर्तमा जमानत दिएका थिर्ए भने अन्य २ आरोपीलाई बाढीपीडितहरुलाई निःशुल्क दाल दिने शर्तमा जमानत दिएका थिए।

कमेन्ट लोड गर्नुस