एसएलसीमा फेल भएपछि तरकारी खेतीमा जमेका विक्रम
मासिक डेढ लाख आम्दानी
दार्चुलाको महाकाली नगरपालिका ९ दत्तुका बिक्रमसिह सामन्तले २०४४ सालमा एसएलसी परिक्षा दिए। पढ्ने इच्छा र रहर जागेको थियो। ९ कक्षासम्म पढाई राम्रै थियो। एसएलसीमा उर्तीण भएपछि माथिल्लो शिक्षा अध्ययन गर्ने उहाँमा जागर थियो। उच्च शिक्षा गरेपछि जागिर खाने र परिवारको खुसी साट्ने रहर पलाएको थियो। तर जब एसएलसीको परिक्षाफल प्रकाशित भयो, सामन्त अनुर्तीण भए। उनको माथिल्लो शिक्षा अध्ययन गर्ने र जागिरे जीवन जिउन सपना चकनाचुर भयो। त्यो बेला एसएलसी उर्तीण भएपनि धेरै मान्यता थियो।
एसएलसी अनुर्तीण भएपछि उनको जीवनले नयाँ मोड लियो, गाउँमै तरकारी खेती गर्ने। अनुर्तीण भएको व्यक्तिले अरु के गर्न सकिन्छ, तरकारी खेती गरौ भन्ने सोच आएर तरकारी लगाउन थाले। सानो खेतमा तरकारी लगाउन थाले। तरकारी राम्रै फल्न थाल्यो सामन्तले भने। हुँदा हुँदा विस्तारै तरकारी खेती विस्तार गरे, अहिले ७० रोपनी जमिनमा तरकारी खेती लगाएको बताए। त्यहि तरकारीबाट अहिले सामन्तको मासिक एक देखि डेढ लाख रुपैयाँ आम्दानी हुन थालेको छ। दत्तुको पाखो जमिनलाई व्यवस्थित गर्दै तरकारी खेती गरेका हुन्।
त्योबेला अनुर्तीण भएकोमा पछुतो लागेको थियो, सामन्तले भने, तर अहिले खुसी छु। त्योबेला उर्तीण भएर जागिर गरेको भए कति पाउँथे होला र ? मासिक २०, २५ हजार रुपैयाँ, तर अहिले तरकारीबाटै बार्षिक २० लाख रुपैयाँ आम्दानी हुन्छ।
तरकारी बाहेक अरु खेतीपाती गर्दैन्। सडक नहुँदा थोरै दुर्गम छ। सडकबाट अहिले पनि उनको तरकारी खेतीमा पुग्न दुई घण्टा उकालो चढ्नुपर्छ। सिचाई, यातायात र बजार अभाव छ। उनले मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन्। जिल्लाकै नमूना कृषकको उपाधी पाइसकेका सामन्तको तरकारी हेर्न कार्यालय प्रमुखदेखि विभिन्न क्षेत्रका कृषकहरु थाप्ला पुग्ने गरेका छन्।
बारीमा उत्पादन भएको गोलभेडा, प्याज, बन्दा लगायत विभिन्न तरकारी र बेर्ना भारतको पिथौरागढ, धारचुला र दार्चुला बजारमा बिक्रि हुने गरेको छ। विगतमा तरकारी उत्पादन गरेर भारतीय बजारमा मात्रै बिक्री हुन्थ्यो, सामन्तले भने, यातायातको पहुँच बढेसँगै नेपालकै दार्चुला बजारसम्म तरकारी ढुवानी हुन थालेको छ।
गाउँका एकदर्जन बढि स्थानीयलाई तरकारी खेतीमा रोजगारी दिएका छन्। तरकारी गोड्ने, मल हाल्ने ढुवानीसम्म स्थानीयले रोजगारी पाएका छन्। शुरुमा तरकारी लगाउँदा गाउँले यो मान्छे तरकारी लगाएर के खान्छ भनेर कुरो काट्थे। दश वर्ष मेहनत गर्न लाग्यो। विस्तार व्यवसाय फस्टायो, विभिन्न निकायको सहयोगमा देश विदेशमा घुम्ने र अवलोकन गर्ने अवसर पाइयो।
तरकारी खेतीबाटै गाउँकै विद्यालयलाई डेढ लाख रुपैयाँ सहयोग गरेको छु, घर बनाउको छु, छोराछोरी इन्जिनियरिङ पढाउँदैछु। सबै तरकारी खेतीमा लगाएको मेहनतले भएको उनले बताए। उनले तरकारी खेती गरेको देखेर अहिले उनका वडाका झण्डै ६० परिवारले तरकारी लगाउन शुरु गरेका छन्।