सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पढाइ हुँदैन, विद्यालयमा खाली बस्नुभन्दा सय रुपैयाँ कमाइरहेको छु’

२०७८ असोज ४, ०४:५३ विन्दु चन्द

बैतडीः ‘विद्यालयमा खाली बसिरहनुपर्छ, पढाइ हुँदैन कति बस्नु दिक्क लाग्छ। स्कुलमा समय बरबाद गर्नुभन्दा त्यो समयमा त सय रुपैयाँ भन्दा बढी कमाउछु न’ यो भनाई हो बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ का सागर लुहारको। उनी विद्यालय जाने समयमा सडक छेउमा गिट्टी कुटिरहेका देखिन्थे। उनी सलेनास्थित धर्मघर उच्च माविमा कक्षा ७ मा अध्ययनरत छन्। 

उमेरले १५ वर्ष पुगेका उनलाई विद्यालय जान त मनपर्छ तर घर गुजारा चलाउन गिट्टी कुट्नुपर्ने बाध्यता पनि छ। कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि उनी घरकै कामकाजमा व्यस्त थिए। लामो समयपछि विद्यालय त खुले तर पढाइ भने खासै भएन।  ‘बिहान हाजिर लगाइदियो। त्यसपछि दिनभरी बसिरहनुपर्छ। पढाउन शिक्षक आउँदैनन्। खाली दिनभर बसेर समय बरबाद गर्नुभन्दा त गिट्टी कुटेर सय रुपयाँ त कमाइन्छ’ उनले भने।  एक कट्टा गिट्टी बेचेर एक सय रुपैँया लिने गरेको उनी बताउँछन्। गाउँमा कसैले घर, शौचालय लगायतका भौतिक संरचना निर्माण गर्न लागे उनीहरुका लागि गिट्टी कुट्ने गरेको सागरले सुनाए। उनी ग्राहक खोज्न गाउँगाउँ जाने गरेका छन्।

अध्यापन सुरु भए लगातार विद्यालय जाने उनी बताउँछन्। ‘कोरोना माहामारीमा बिदा थियो। खेतीपाती गरे। अब स्कुल खुलिहाल्यो, पढाइ हुन थालेपछि लगातार स्कुल जान्छु’ सागर लुहारले भने, ‘पढन मनपर्छ नि। तर आजभोलि खास्सै पढाइ हुँदैन। यो समयमा दिनमा ५/६ कट्टा गिट्टी कुट्छु।’

पछिल्लो समय पहाडी जिल्लामा कतिपय विद्यार्थीहरुले विद्यालय जानै छाडेको शिक्षकहरु समेत बताउँछन्। कोरोना माहामारीले विद्यार्थीहरुमा नराम्रो प्रभाव परेको धर्मघर उच्च माविका प्रधानाध्यापक रामबहादुर चन्दले बताए। धेरैजसो विद्यार्थी पढाइ छाडेर रोजगारीका लागि भारत पसेको समेत उनले बताए।

कोरोना महामारीका कारण आर्थिक समस्या परेपछि घर खर्च चलाउन स्कुले किशोरहरु भारत पसेको स्थानीय बताउँछन्। विद्यालय खुलेपछि विद्यालय आउने कतिपय विद्यार्थीहरुले पढाइमा ध्यान समेत नदिने गरेको शिक्षकहरु बताउँछन्। 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस